नेपाली सेनाको नेतृत्वको सफा हिमाल अभियान टोली सगरमाथा आधार शिविर पुगेको छ।
नेपाली सेनाको जनशक्ति मध्ये सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ सदस्यीय टोली आज सगरमाथा आधार शिविरमा पुगेको हो।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाइमा गत चैत १४ गते प्रधान सेनापति प्रभुराम शर्माले ‘क्याम्पेन’ झण्डा हस्तान्तरण गरी सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ टोलीको बिदाइ गरेका थिए।
यस अभियान अन्तर्गत अन्नपूर्ण हिमाल सफाईमा संलग्न टोली गत चैत्र १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहोर संकलन गर्ने कार्यको थालनी गरिसकेको छ भने बरुञ्चे हिमाल सफाई टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा रहेको छ। ती टोली हिमाल सफाई कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकुल तुल्याउन विभिन्न क्रियाकलापहरुमा जुटेका छन्।
अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरुबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ विश्व वातावरण दिवस (जुन ५) सम्म सञ्चालन हुने अभियानले विश्वब्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।
Shares
प्रतिक्रिया