समाज


स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन काठमाडौंमा सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन काठमाडौंमा सुरु

नेपालखबर
चैत २८, २०७९ मंगलबार १३:१५, काठमाडौँ

नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पुर्याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन सुरु भएको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनमा पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता, वैज्ञानिक तथा अमेरिका, स्वीट्जरल्याण्ड, भारतलगायत देशका प्रतिनिधिको सहभागिता रहेको छ। 

परिषद्ले २०७१ सालदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्दै आएको सदस्यसचिव डा प्रदीप ज्ञवालीले जानकारी दिए।

‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा विभिन्न प्रस्तुतीकरण हुनेछन्। एक सय २१ वटा पोस्टर प्रस्तुतीकरण हुनेछ। दुई सामूहिक सत्र र १० समानान्तर सत्र सञ्चालन हुनेछन्। 

परिषद्ले स्थापनाकालदेखि स्वास्थ्य क्षेत्रका अनुसन्धानलाई नियमन गर्ने, असल अनुसन्धानको संस्कार विकास गर्ने र अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्कलाई स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रममा रुपान्तरण गर्ने काम गर्दै आएको छ। 

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वैज्ञानिक अनुसन्धानबाट सरुवा रोग नियन्त्रण हुँदै गए पनि पछिल्ला दिनमा नसर्ने तथा मानसिक रोग, जलवायु परिवर्तन, घट्दो जन्मदर, अस्वाभाविक बसाइँसराइलगायत बढ्दै गरेको अवस्थामा ती विषयको अनुसन्धान गर्न सम्मेलनले सघाउ पुर्याउने बताए। 

उनले मौलिक चिकित्सा पद्धति, आयुर्वेद, परम्परागत ज्ञान लगायतको वैज्ञानिक अनुसन्धान गरी आधुनिक चिकित्सा पद्धतिका रुपमा विकास गर्न परिषद्को महत्वपूर्ण भूमिका रहेको बताए।

योजना आयोगका सदस्य जयकान्त राउतले नसर्ने रोग र महामारी मानव सभ्यताका लागि चुनौती बनिरहेको अवस्थामा परिषद्ले यससम्बन्धी अध्ययन गर्नुपर्ने बताए। नीति र तथ्यपरक योजना निर्माण गर्न अनुसन्धान आवश्यक हुने भन्दै उनले अनुसन्धानको नतिजाका आधारमा नीति बनाउनसके मात्र कामयावी हुने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले परिषद्ले देशलाई सुहाउँदो र राज्यलाई आवश्यकपर्ने अनुसन्धान गर्नुपर्ने र त्यसबाट मात्रै नीतिनिर्माणमा सहयोग पुग्ने बताए। परिषद्लाई प्रादेशिकस्तरमा लैजान छलफल भएको भन्दै उनले नसर्ने रोग र मानसिक समस्याका बारेमा अनुसन्धान गर्न आग्रह गरे।

सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा ‘स्वास्थ्य प्रणाली र नीति’, ‘क्लिनिकल ट्रायल र बायो इथिक्स’, ‘आपत्कालीन जनस्वास्थ्य र बदलिँदो मुद्दा’लगायत विषयमा सामूहिक सत्र सञ्चालन हुनेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad