समाज


विदेशमा ज्यान गुमाएकाको बिमा रकम ठगी, एकै गिरोहका ६ जना पक्राउ

विदेशमा ज्यान गुमाएकाको बिमा रकम ठगी, एकै गिरोहका ६ जना पक्राउ

ठगीमा संलग्न भएर पक्राउ परेकाहरु। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १४:२६, काठमाडौँ

वैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएका नेपालीहरुको बिमा बापतको रकम ठगीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विदेशी कम्पनीबाट बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बिमा बापतको रकमसमेत  दिलाइने भन्दै मृतकका आफन्तहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। उनीहरुले विदेशमा मृत्यु भएका व्यक्तिका ३५ बढी परिवारलाई ठगेको खुलेको छ। 

पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दीका प्रकाशबहादुर गोले, सर्लाहीको हरिवनका रुद्रमान गोले, सर्लाहीको लालबन्दीकै डिकबहादुर मल्ल र सर्लाहीको लालबन्दीकै रविन भन्ने रवीन्द्र मोक्तान छन्। 

त्यसैगरी कार्यालयको टोलीले यो ठगीमा संलग्न काभ्रेको रोशी गाउँपालिकाका रामबहादुर तामाङलाई पनि पक्राउ गरेको छ।

प्रहरीले मृतकका परिवारले पाउने बिमा रकम ठगीमा जोडिएका सर्लाहीकै लालबन्दीका विनोदकुमार लामालाई पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

उनीहरुले बीमाबापत पाउने रकम मृतकका आफन्तहरुलाई दिलाउँछौँ भन्दै ठगी गरेको खुलेको छ। मृतकका आफन्तलाई केही रकम मात्रै दिएर अधिकांश आफैंले राखेको पनि पाइएको छ। 

अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरुको निगरानी गरेर खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो। 

उनीहरुको साथबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यूदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण कागजात पनि बरामद भएको छ। 

ती सबैजनालाई पक्राउ गरेपछि ठगीसम्बन्धी कसुरमा आवाश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .