नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकता गर्ने निर्णय भएको छ।
शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच एकता गर्ने निर्णय भएको हो।
उक्त कार्यक्रममा बोल्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट छुटेका नेकपा(बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्थाको काम नरहेको बताए।
उनले संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरु एकतावद्ध हुन लागेको बताए।
‘यो एकताले नेपालको क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गर्न र नेपालमा जुन संसदीय व्यवस्था जसको कारणले अहिले देश आक्रान्त बनेको छ। नेपाली जनता प्रताडित छन्', उनले भने, 'देशले वैकल्पिक राजनीतिक प्रणालीको माग गरेको छ। राजनीतिक व्यवस्थाको माग गरेको छ । त्यो व्यवस्था भनेको निश्चित रुपमा नयाँ जनवाद, वैज्ञानिक समाजवादबाहेक अर्को हुन सक्दैन त्यो व्यवस्था स्थापना गर्न सिंगो नेपाली जनता र क्रान्तिकारीहरुलाई एकतावद्ध गर्नेमा विश्वस्त छौँ।’
बास्तोलाले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग पार्टी एकताको घोषणा भने आगामी अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने बताए।
Shares

प्रतिक्रिया