समाज


भारतले खोल्यो धौलीगङ्गा बाँध, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा बाढीको जोखिम

भारतले खोल्यो धौलीगङ्गा बाँध, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा बाढीको जोखिम

नेपालखबर
असार १२, २०७६ बिहिबार ३:४४,

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ।

एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो।

बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम बढेको छ।

महाकालीमा बाढी आउने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन्। महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको पौडेलले बताए।

बाँध बिहीबार बेलुकासम्म खोलिने छ। तर, शुक्रबारसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।

यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले पनि अनुरोध गरेका छन्।

बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको छ। दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार आज बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान ७ः३० बजे घटेर २.८ मिटर पुगेको छ।

परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ।

धौलीगङ्गा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने गर्छ।

बाँध खोल्दा त्यस क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ।

विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad