ललितपुरको पाटनस्थित गावाहलमा आज (शनिबार) बिहान भेटिएको शंकास्पद वस्तु सेनाले हटाएको छ।
ललितपुर महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मंगलबजार र पुलचोकबीचमा पर्ने सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीबेरअघि सुरक्षित रूपमा हटाएको हो।
‘मेटासिडको भाँडोमा टेप बेरेर बमजस्तो बनाएर राखिएको वस्तु रहेछ,’ नेपालखबरसँग कुरा गर्दै एसएसपी राईले भने, ‘समाजमा त्रास फैलाउन कसैले त्यस्तो गरेको देखियो।’
आज बिहान ८ बजे शंकास्पद वस्तु देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै ललितपुर प्रहरी परिसरबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली गएर त्यो वस्तु भेटिएको स्थानलाई सुरक्षित राखेको थियो।
‘त्यसपछि हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गर्यौं,’ एसएसपी राईले भने, ‘सेनाले सुरक्षित रूपमा त्यसलाई निष्क्रिय पार्ने क्रममा बम नभएको पुष्टि भयो।’
कुनै पनि शंकास्पद वस्तु देखिएपछि प्रहरी आफैंले जोखिम नलिने उनले बताए। उनले भने, ‘हामी त्यसलाई सुरक्षित ढंगले निष्क्रिय पार्न सेनाको सहयोग लिन्छौं।’
Shares

प्रतिक्रिया