समाज


सरकारको अनौठो निर्णय : इसा अवार्ड लिएको दुई दिनपछि सन्दुक रुइतले पाए स्वीकृति

सरकारको अनौठो निर्णय : इसा अवार्ड लिएको दुई दिनपछि सन्दुक रुइतले पाए स्वीकृति

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १६:५६, काठमाडौँ

नेपालका प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले मंगलबार (फागुन ९ गते) बहराइनको राजधानी मनामा पुगेर‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ ग्रहण गरे।

उक्त संस्थाले मंगलबार १० लाख अमेरिकी डलर (नेपाली १३ करोड रुपैयाँ बढी) को अवार्ड रूइतलाई प्रदान गरेको थियो। 

बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका थिए। 

बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा खालिफाले इशा डा. रुइतलाई अवार्ड प्रदान गरेका थिए।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले अन्धोपना निवारणमा गरेको योगदान बापत बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो।

बहराइनका राजा हमाद बिन इसा अल खालिफाले रुइतलाई उक्त अवार्ड हस्तान्तरण गर्दै उनले आँखा सेवामा अमूल्य मानवीय सेवाको सर्वोत्कृष्ट काम गरेको बताए।

रुइत बहराइन पुगेर उक्त अवार्ड ग्रहण गरेर नेपाल फर्किसकेपछि नेपाल सरकारले भने अनौठो निर्णय गरेको छ।

रुइतले अवार्ड ग्रहण गरेको दुई दिनपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एउटा निर्णय गरेको छ। जसमा रुइतलाई उक्त अवार्ड ग्रहणका लागि स्वीकृति दिने उल्लेख छ।

गत माघ ४ मै उक्त अवार्डका लागि बहराइन सरकारले उनको नाम घोषणा गरेको थियो। त्यसपछि रुइतले अवार्ड ग्रहणको अनुमतिका लागि गृहमन्त्रालयमा निवेदन दिएका थिए।

गृहमन्त्रालयले उनको उक्त निवेदनलाई बिहीबारको मन्त्रिपरिषदमा पेश गरेको थियो। जुन बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ।

जसमध्ये रुइतबारेमा गृहमन्त्रालय अन्तर्गत आठौं नम्बरमा निर्णय गरिएको छ। जसमा भनिएको छ, 'बहराइनस्थित इशा अवार्ड ट्रस्टले प्रदान गेको इसा अवार्ड फर ह्म्यानिटी अवार्ड डा. सन्दुक रुइतलाई ग्रहण गर्न स्वीकृति दिने।'

सन्दुक रुइतले ३० वर्षभन्दा बढी नेत्र विशेषज्ञका रुपमा काम गरिसकेका उनले कम रकममै शल्यक्रिया र प्रतिगोटा तीन डलरभन्दा कम मूल्यमै पाउन सकिने उच्च गुणस्तरको इन्ट्राओकुलर लेन्स निर्माण गर्ने केन्द्रहरू स्थापना गरेका छन्। 

डा. रुइतले वर्षौंदेखि चीन, भारत, बंगलादेश, कम्बोडिया, उत्तर कोरियालगायत अन्य ठाउँमा आँखा शिविर सञ्चालन गरिसकेका छन्। 

डा. रुइतले ५० हजारभन्दा बढी विपन्न नागरिकका आँखाको निःशुल्क शल्यक्रिया गरिसकेका छन्।

डा. रुइतले यसअघि सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार, सन् २०१८ मा भारत सरकारले दिने पद्मश्री सम्मान, २०७५ मा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक पाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad