नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कर्जामा गरिएको ब्याजदर वृद्धिको विरुद्ध भइरहेको आन्दोलनप्रति तीब्र असन्तुष्टि प्रकट गरेका छन्।
देशका विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुले ब्याज दर घटाउनुपर्ने मागसहित आन्दोलन गरिरहेको बेला उनले त्यस्तो आन्दोलनले सिस्टम बिगार्ने जिकिर पनि गरे।
‘बैंक तथा वित्तीय संस्थालाई गाली नगरौं। हिजो निक्षेपमा४/५ प्रतिशत ब्याज थियो, अहिले १२ प्रतिशत पुगेको छ’ शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७ औं स्थापना दिवस तथा ४०औं साधारण सभामा बोल्दै उनले भने, ‘सार्वजनिक खपतको लागि मीठो कुरा नगरौं। बैंकले जनताकै पैसा चलाउने हो। सबै बैंक र वित्तीय संस्थाले काम गरेको भन्दिन तर सिस्टमाथि धक्का लाग्ने गरि काम नगरौं।’
उनले उद्योग वाणिज्य संघका जिम्मेवार सदस्य र पदाधिकारीहरुले आउँदो चुनावलाई केन्द्रमा राखेर गैरजिम्मेवार भनाइ राखेको जिकिर पनि गरे।आउँदो चैतको अन्तिम साता नेपाल उद्योग वाणिज्य संघको चुनाव हुँदैछ।
‘मासलाई मन पर्ने कुरा नगरौ,सिस्टम बिगार्छ। सिस्टम रहे व्यवसायी रहने हो। म स्ट्रोङ्ली भन्छु’ उनले भने, ‘भोट तान्ने हिसाबले काम नगरौं।’
व्यवसायीले असजिलो अवस्थामा पनि काम गर्नुपर्ने बताउँदै उनले अर्थतन्त्र सुधारोन्मुख भएको बताए।
‘अहिले आशाका किरणहरु देखिएका छन्। रेमिट्यान्स बढेको छ। पर्यटनमा पनि सुधार भएको छ’ उनले भने, ‘म आफैं जिरोदेखि व्यवसाय सुरु गरेको मान्छेलाई यस्तो असजिलो कति पर्यो होला? धैर्यता गुमाउन हुँदैन।’
निजी क्षेत्रले सिएसआरमा गर्दैनन्, कर तिर्दैनन् र चोर हुन् भन्ने आरोपबाट मुक्त गराउनु र निजी क्षेत्रको शिर उँचो राख्ने आफ्नो एकमात्र एजेन्डा भएको उनको भनाइ थियो। उनी चैतदेखि नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष हुँदैछन्।
Shares

प्रतिक्रिया