समाज


काठमाडौं आइपुगे भारतीय सेनाका चार पूर्व प्रमुख, नरवाने भोलि आउने

काठमाडौं आइपुगे भारतीय सेनाका चार पूर्व प्रमुख, नरवाने भोलि आउने

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १४:१, काठमाडौँ

भारतीय स्थलसेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन्।

नेपाली सेनाको स्थापना दिवस समारोहमा ासहभागी हुन उनीहरू शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन्। 

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग आइपुगेका हुन्। 

पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार बिहान मात्रै काठमाडौं आइपुग्नेछन्।

फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरुले भेटघाट गर्नेछन्। सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुनेछन्।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ। नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ। 

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए। नेपाली सेनाले त्यतिबेला उनलाई पनि मानार्थ महारथीको सम्मान दिएको थियो। 

नेपाली सेनाका ५ वटा कम्पनी स्थापना भएको २६० वर्ष पूरा भएको छ। १८१९ मा पृथ्वीनारायण शाहले ५ वटा कम्पनी स्थापना गरेका थिए। 

श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी नामका कम्पनी पहिलो पटक स्थापना भएका थिए। यी गणको स्थापना भएको २६० वर्ष पुगेको अवसरमा सेनाले स्थापना दिवश मनाइरहेको छ। 

सेना दिवसको अवसरमा फागुन ५ गते वीर स्मारक छाउनीमा श्रद्धाञ्जली अर्पणको कार्यक्रम हुनेछ। फागुन ६ गते सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गर्ने सेनाको तयारी छ। 

सो अवसरमा ५५५ वटा मादल एकसाथ बजाउँदै विशेष प्रस्तुति गरिनेछ। भारतीय सेना र बेलायती सेनाले पनि विशेष ब्यान्डसहितको प्रस्तुति दिनेछन्। सैनिक मञ्च र छाउनीको स्मारकमा वीरगति प्राप्त सैनिकको सम्झनामा अखण्ड बत्ती बालिनेछ। 

फागुन ७ गते जंगी अड्डामा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने तय भएको छ। ७ गते नै नेपाली सेनाको मुखपत्र सिपाही विमोचन गरिनेछ। यस्तै सैनिक इतिहाससम्बन्धी पुस्तक पनि विमोचन गरिने सेनाले जनाएको छ। 

नेपाली सेनाले स्थापना दिवसकै अवसरमा यसअघि विभिन्न कार्यक्रम गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .