चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा एक बालकको मृत्यु भएको छ।
चितुवाको आक्रमणबाट २२ महिनाका बालक रविन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए।
शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा बालकको शव भेटिएको हो।
शुक्लागण्डकी नगरपालिकामा पनि चितुवाले बालकलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन्।
तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ।
यसैबीच डिभिजन वन कार्यालय तनहुँले सोमबार नै पीडित परिवारलाई किरिया खर्चवापत ५० हजार राहत उपलब्ध गराएको छ।
सहायक वन अधिकृत बाबुराम उप्रेतीले मृतक बालकको घरमा पुगेर बुबा राजु नेपालीलाई रकम प्रदान गरेका हुन्।
पछिल्ला केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेकाले साँझ बिहानको समयमा सतकर्ता अपनाउन उप्रेतीले स्थानीयलाई आग्रह गरे।

प्रतिक्रिया