समाज


चिकित्सक संघसँग सरकारको सहमति, आन्दोलन स्थगित

चिकित्सक संघसँग सरकारको सहमति, आन्दोलन स्थगित

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ २९, २०७९ आइतबार ११:५९, काठमाडौँ

नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने निर्णय फिर्ता लिएको छ। संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको दुई पक्षबीचको छलफलमा आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो। 

संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार सरकारसँग सहमति भएसँगै घोषणा भएका आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएका छन्।

आइतबार बिहानै ८ बजे देखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो। 

वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको प्रतिनिधिहरु उपस्थित थिए।

चिकित्सकहरुले राष्ट्रपतिको सवारीको क्रममा चिकित्सकले प्रोटोकल नमिचेको भएपनि चिकित्सकमाथि निर्मम प्रहार भएको बताएका थिए।

सो घटनापछि चिकित्सकहरुले असुरक्षित महशुस गरेको भन्दै सेवा प्रवाह बन्द गराएका हुन्। स्वास्थ्य सेवा बन्द भएपछि देशभरका स्वास्थ्य संस्थाहरुका बिरामी प्रभावित भएका छन्।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा पनि बिरामीहरुले सेवा पाउन सकेका छैनन्। वीर अस्पतालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रेजिडेन्ट एशोसिएशन अफ नान्सका अध्यक्ष शेषराज घिमिरेले चिकित्सहरुले असुरक्षित महशुस गरेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।

उनले सुरक्षा दिनुपर्ने निकायले नै चिकित्सकमाथि आक्रमण गरेको भन्दै कामेका हातहरुले सेवा दिन नसकिने बताए।

‘२७ गते प्रहरीले हामी स्वास्थ्यकर्मीमाथि ज्यादती ग¥यो। यो असह्य कुरा हो। भिभिआईपी सवारीको नाममा जनतामा चरम रुपमा असुविधा भयो भन्ने आवाज आएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीमाथि निर्मम प्रहार भएको छ । प्राटोकल नतोडेको अवस्थामा। त्यसलाई फलो गरिराखेको अवस्थामा जसले हामीलाई अत्यन्त असुरक्षित महशुस गराएको छ। हामी यो कुरा सहन सक्दैनौँ। हामी सेवा दिनलाई नसक्ने अवस्थामा पुगेका छौँ।’

उनले चिकित्सकहरुको आन्दोलनबाट पर्न गरेको असर र क्षतिको जिम्मेवारी राज्यले लिनुपर्ने बताए।

‘सुरक्षा दिनुपर्ने सुरक्षाकर्मी नै हामीमाथि आइलागे पछि त हामी कामिरहेको हातले सेवा दिन सक्दैनौँ। सेवाग्राहीको मैले सर्जरी गर्नुपर्ने छ। मेरो हात त्रासले कामीरहेको छ भने म कसरी सेवा दिउँ। मलाई सेवा दिन मन नलागेको होइन। हामीलाई सेवा दिन मन नलागेको। नचाहेको होइन। हाम्रो दुःख दिने हाम्रो कुनैपनि उद्देश्य होइन। त्यो सबै कुराको जिम्मा प्रहार गर्ने, प्रहार गर्न उक्साउने, आदेश दिने, नीति, नियम पालना गराउनुपर्ने र संयम गराउनुपर्ने राज्यका सबै निकायहरुले त्यसको जिम्मा लिनुपर्छ। कानूनी रुपमात्यसको भोग गर्नुपर्छ। कानूनी कारबाही भोग्नैपर्छ।’, उनले भने।

आफूहरुको सुरक्षाको सुनिश्चितता नहुँदासम्म आन्दोलन जारी रहने उनले बताए।

चिकित्सक संघको तर्फबाट नेतृत्व डा. लोचन कार्कीले गरेका थिए भने सो टोलीमा महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता थियो।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको थियो। 

संघले आइतबार आकस्मिक बाहेकका देशका सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad