ad ad

समाज


कुवेतमा नेपाली महिलालाई अठार घण्टासम्म काम, मानसिक र शारीरिक यातना

कुवेतमा नेपाली महिलालाई अठार घण्टासम्म काम, मानसिक र शारीरिक यातना

सांकेतिक तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १७:२८, काठमाडौँ

आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ। 

ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिए। केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उनले बताए।

ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा युएई हुँदै कुवेत पुर्‍याएका थिए।

कुवेत पुगेपछि उनलाई अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा बिक्री गरेको खुलेको छ। त्यसपछि उनलाई दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख छ। 

आफूले यातना पाएको भनी उनले दिएको सूचनाका आधारमा परिवारले ब्यूरोमा उजुरी दिएका थिए। ब्यूरोले कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा उनलाई यही माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो। पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिएकी थिइन्।

हाल कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गर्ने र सो कुराको रेकर्ड पीडितका श्रीमान्लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको खुल्न आएको छ। 

उनीहरुले पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाएको खुल्न आएको छ।  

उक्त घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिको खोजी जारी रहेको ब्यूरोले जानकारी दिएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .