समाज


गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा प्रदर्शन

जनकपुरधाममा प्रदर्शन गर्दै स्थानीयबासी। तस्बिर : नेपालखबर


नेपालखबर
माघ ९, २०७९ सोमबार १४:२८, जनकपुरधाम

जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्यालाई लिएर स्थानीय आन्दोलित भएका छन्। 

आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा प्रदर्शन गरि चक्काजाम गरेका हुन्। 

उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका छन्। 

जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरेका छन्। 

पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि अहिले प्रहरीले झुटो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन्।

प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ। 

परिवारजनको आग्रह अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुबैजनाको ज्यान जोगिने सम्भावना रहेको परिवारजनको भनाइ छ। 

उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामासमेत माग गरेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २२ वर्षीय छोरा रोहित र वडा नम्बर-१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या भएको थियो। 

उनीहरुको शव आइतबार बिहान भारतको बिहार राज्यस्थित परिहार पर्सा गाउँको पश्चिमतर्फ चौरमा शव फेला परेको थियो। 

दुईसाता अघि दुवैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए। 

त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो।

अपहरणकारीले विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए। 

परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए। अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो। तर, गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो।

यता, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको जानकारी दिए। उनले अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले प्रहरीलाई समयमा जानकारी नदिएको बताएका छन्।

घटनापछि प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भारत र नेपालका गरी ९ जनालाई पक्राउ गरेको एसपी खड्काले जानकारी दिए। उनीहरुको नाम अहिले गोप्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .