नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्य अवस्था कमजोर भएपछि आकस्मिक रुपमा रोल्पाबाट काठमाडौं ल्याएर उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचाररत पुन एक हप्ता अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्।
उनका निजी चिकित्सक डा. युवराज शर्माका अनुसार स्वास्थ्यमा केही सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो। यद्यपि उनलाई चिकित्सककै निगरानी राखेर खानपिन लगायत सम्पूर्ण कुराको ख्याल गरिने उनले बताए।
‘जुन समस्या भएर उहाँ अस्पताल आउनुभएको थियो, त्यो समस्यामा केही कमी भएपछि हामीले डिस्चार्ज गरेका हौँ’, डा. शर्माले नेपालखबरसँग भने, ‘निगरानीमा बसिरहनुपर्नेछ। उहाँ फलोअपका लागि आइरहनुपर्ने हुन्छ।’
जन्डिसले कलेजोमा कमजोर गराएको कारण त्यसलाई समाधान गर्ने गरी चिकित्सकहरुको टोलीले सल्लाह गरिरहेको पनि उनले बताए।
वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।
उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।
नेपालबाट जाँदा पुनमा निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा तारन्तार वान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको थियो।
पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ भनिन्छ।
गत वर्ष पनि रोगले च्यापेपछि पहिला थाइल्यान्ड र पछि चीनमा उपचार गराएका थिए। पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो।
चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका थिए।
Shares
प्रतिक्रिया