देशको पश्चिमी क्षेत्रमा आज (बिहीबार) र भोलि (शुक्रबार) वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाको बुलेटिनअनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थान साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यस्तै भोलि शुक्रबार पनि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। बुलेटिनअनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यसैगरी शुक्रबार राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भूभागमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
हालको मौसम
यतिबेला (बिहीबार बिहान) भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तापक्रम
आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। तर यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।
Shares

प्रतिक्रिया