समाज


विश्व तरंगित बनाइरहेको एउटा तस्विर

विश्व तरंगित बनाइरहेको एउटा तस्विर

नेपालखबर
असार ११, २०७६ बुधबार ७:४५,

 बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ।

फोटो अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत भेटिएको अवस्थाको हो। अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएका बुवाछोरीको तस्विरले सबैको मन छियाछिया बनाउँछ, आप्रवासीको कथा उजागर गर्छ।

मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो। नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ। पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ।

तस्बिरमा छोरी अझै आफ्नो पिताको ढाडमै छिन्। २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छन्। उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन्।

न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन्। तस्विरले आप्रवासीको अमेरिका यात्राको कति दर्दनाक छ भन्ने देखाएको छ। साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको थियो। 

सन् २०२० मा अमेरिकामा निर्वाचन हुँदैछ। निर्वाचन नजिक आएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइँ गरिरहेका छन्। गत महिना अमेरिकाले गैरकानुनी आप्रवासी रोक्न मेक्सिकोलाई चेतावनी दिएको थियो। केही अवैध आप्रवासीलाइ अमेरिकाले विमान चार्टड गरेर आ–आफ्नो घर फर्काइरहेको छ।

mexico migrant1

आर्थिक प्रतिबन्धको त्रासका कारण मेक्सिकोले पनि आप्रवासी रोक्न प्रयास गरिरहेको छ। दुवै देशको कडाइँका कारण अमेरिका जान खोज्ने विभिन्न देशका गैरकानुनी आप्रवासी अप्ठ्यारोमा परेका छन्।
अमेरिकामा आतंकवाद घटाउने हो भने मेक्सिको सीमामा थप पर्खाल लगाउनुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ।

विश्वकै ध्यानाकर्षण गर्ने दुःखद घटनाले एस साल्भाडोर समेत ठूलो चर्चा पाएको छ। विदेशमन्त्री अलेक्सजेन्ड्रा हिलले आफ्नो ज्यान जोखिममा पारेर अमेरिकाको सपना नदेख्न सार्वजनिक अपिल गरेका छन्।

‘यतिबेला हाम्रो देश शोकमा डुबेको छ। परिवार तथा अभिभावकलाई म बिन्ती गर्छु आफ्नो ज्यान जोखिममा नपार्नुहोस्। जीवन सबैभन्दा मूल्यवान छ’, उनले देशबासीलाई सम्बोधन गर्दै भनेका छन्।

अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad