ad ad

समाज


होटल म्यानेजमेन्ट छाडेर एयरहोस्टेस बनेकी थिइन् ओसिन

होटल म्यानेजमेन्ट छाडेर एयरहोस्टेस बनेकी थिइन् ओसिन

नेपालखबर
माघ २, २०७९ सोमबार २२:२९, काठमाडौँ

चितवनको माडी ८ का मोहन आले मगर गण्डकी अस्पतालबाहिर आफन्तसँग मौन छन्। उनीसँग बोल्नलाई शब्द छैन। आफन्तहरु साथै छन्। उनीहरुसँग पनि सम्झाउने शब्द छैनन्। 

अस्पताल परिसर स्तब्ध छ। २४ घण्टा बढी भयो एम्बुलेन्स र शवबाहनको एकोहोरो चिच्याहट। 

सेती खोँचबाट बिस्तारै आफन्तको उपस्थिति अस्पतालतिर थपिँदै छ। अस्पतालमा शव थपिने क्रम पनि रोकिएको छैन। आफन्तको भीडभाड पनि बढ्दैछ। आइतबार बिहानदेखि एकोहोरो अन्धकारजस्तै छ पोखरा।  

चिनिएका शवको सोमबार अपराह्नबाट पोस्टमार्टम सुरु भइसकेको छ। पोस्टमार्टमपछि आफन्तको शव बुझाउन थालिएको छ। तर धेरैजसो शवको सनाखत हुन सकेकै छैन। शव डढेर चिन्नै नसकिने छन्। आफन्त शव कुरिरहेका छन्। सोमबार दिउँसोसम्म ३८ शवको सनाखत भएको छ। 

मोहन पनि छोरीको शव लिन पोखरा पुगेका हुन्। उनकी ठूली छोरी हुन् ओसिन आले मगर। ओसिन यती एयरलाइन्सकी एयरहोस्टेस थिइन्।

ओसिनको शवको पनि सनाखत हुन सकेको छैन। आफन्तहरु पटकपटक अस्पतालमा पुगेर हेरिसके, तर ठम्याउन सकेका छैनन्। आफन्तले अनुमान गरेर मात्रै पनि डाक्टरले मान्यता दिँदैनन्।

६ महिनाअघि ओसिन एयरहोस्टेस बन्दा परिवारको खुसीको सीमा नै थिएन। होटल म्यानेजमेन्ट पढ्दै गरेकी ओसिनलाई परिवारले एयरहोस्टेस पढायो। नवलपरासीमा मामाघरमा बसेर ओसिनले एयरहोस्टेस पढिन्। पहिलो पटक यतीमा जागिर गर्न थालेकी थिइन्।  

त्यसअघि अक्सफोर्ड कलेज चितवनमै होटल व्यवस्थापन पढ्दै थिइन्। ११ को परीक्षा दिएपछि उनी १२ कक्षा पढ्न गइनन्। बीचमै छाडिन्। एयरहोस्टेस पढ्न नाम निस्कियो। त्यसपछि गन्तव्य मोडियो। चितवनबाट नवलपरासी सरिन् अध्ययनका लागि।  

भारतीय सेनाका अवकाशप्राप्त सैनिक हुन् मोहन। केही वर्षअघि पेन्सन पाकेपछि उनी घर फर्किए। उनले छोरीले रोजेकै विषय पढाएका थिए। 

कान्छी छोरी अहिले पनि भरतपुरमै पढ्छिन्। छोरा सानै भएकाले अचेल बुबा–आमा र दिदी ओसिनसँग काठमाडौंमै बस्थे। 

काठमाडौंमा ओसिनले जागिर पाएपछि डेरा लिएका थिए। ओसिनकी फुपू जुना मगरले भनिन्, ‘ठ्याक्कै अहिले याद गर्न सकिनँ, तर बहिनीले जागिर खाएपछि भाइ–बुहारी पनि काठमाडौं सरेका हुन्।’

जुना पनि भाइबुहारीसँगै पोखरा पुगेकी छन्। 

‘काठमाडौंमा हुनेहरु उतैबाट आए, हामी चितवनबाट हिजै बेलुका राति आ’को,’ जुनाले भनिन्, ‘हामीलाई धेरै कुरा अहिले याद नै छैन। भाइहरु अस्पतालमा छन्, हामी यहाँ होटलमा बसेका छौं।’

ओसिनको उडान–दैनिकीको बानी परिसकेको थियो परिवारलाई। तर आइतबार बिहान दोस्रो पटक पोखरा उडेको यतीको जहाज दुर्घटनाले परिवारमा बज्रपात पर्यो। जहाज दुर्घटना हुनासाथ हल्ला फैलियो। 

छोरी पनि पोखरा उडेकाले ओसिनका परिवारको चासो झन् हुने नै भो। पोखरा भएका आफन्तलाई पनि सोधिखोजी गर्न थाले। यता कम्पनीतिर फोन लाए। अन्ततः पुष्टि भयो ओसिन भएकै जहाज दुर्घटनामा पर्यो।

त्यसलगतै आफन्त र परिवार पोखरा हान्निए। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार सोमबार तीन जनाको मात्रै पोस्टमार्टम हुनेछ।

धेरैको त सनाखत पनि हुन सकेको छैन। सनाखत हुन नसकेका र काठमाडौं ल्याउनै पर्ने शव मंगलबार बिहान पठाउने तयारी छ।

दुई जना अझै बेपत्ता छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .