काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर जहाज स्थानीयबासीले हेर्दा हेर्दै सेती खोंचमा खसेको छ।
पोखराको घारीपाटननजिकै सेती नदीको खोचमा एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेको हो।
अहिले त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित आम नागरिकले पनि उद्धारको काम गरिरहेका छन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार उडिरहेको अवस्थामा हेर्दा हेर्दै जहाज खसेको थियो।
खसेलगत्तै ठूलो मुस्लो सहितको आगलागी सुरु भएको थियो। दुर्घटनाको केहीबेरमा आइपुगेको हेलिकोप्टरले पानी खसाले पनि आगो नियन्त्रणमा आउन सकेको छैन।
पहिलो पटकको प्रयासमा आगो ननिभेपछि दोस्रो पटक पनि हेलिकोमप्टरबाटै पानी खसालिएको हो।
स्थानीयबासीले विमानको धेरै भाग जलेको र केही भागहरू उछिट्टिएर पर परसम्म पुगेको बताएका छन्।
धुवाँको मुस्लोका कारण हताहतको अवस्था एकिन नभएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुले बताएका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसहितका अधिकारीहरु अहिले घटनास्थलमा छन्।
Shares

प्रतिक्रिया