समाज


जाडोमा हृदयाघातको उच्च जोखिम, यस्तो छ बच्ने उपाय

जाडोमा हृदयाघातको उच्च जोखिम, यस्तो छ बच्ने उपाय

डा. ओममूर्ति अनिल


डा. ओममूर्ति अनिल, वरिष्ठ मुटुरोग विशेषज्ञ
पुस २९, २०७९ शुक्रबार ७:८, काठमाडौँ

नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिष्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ। यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ। अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ। नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन्। 

नेपालले स्वास्थ्य क्षेत्रमा निकै प्रगति गर्न सके पनि नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। उपचार सेवा र चिकित्सकहरू सहरी क्षेत्रमा नै केन्द्रित हुँदा ग्रामीण क्षेत्रका जनता आधारभूत जानकारी र अवसरबाट बञ्चित छन्। बालबालिका र युवाहरूमा बढ्दै गइरहेको अस्वस्थ आहारको सेवन, शारिरीक गतिविधिमा कमी, धुमपान, मदिरापानले भोलिको नेपाललाई अस्वस्थ बनाउने देखिन्छ। निम्न र मध्यम वर्गीय नेपालीहरूका लागि मुटुरोगको उपचार महँगो र असहज भएका कारणले यसको रोकथाम तथा नियन्त्रण नै एकमात्र विकल्प छ। 

यतिबेला चिसो मौसमका कारण मुटुको समस्या भएका बिरामीको सङ्ख्या धेरै रहेको पाइन्छ। चिसो समयमा अस्पताल वा क्लिनिकहरूमा बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने गर्दछ। उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोलजस्ता रोगहरूको समयमै उचित उपचार भएमा मुटुरोगको प्रकोप घटाउन सकिने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्। खासगरी चिसो याममा मुटुरोगबाट कसरी स्वस्थ रहन सकिन्छ भन्ने विषयमा डा अनिलसँग राष्ट्रिय समाचार समिति (रासस) का आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानी संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ। हाल डा. अनिल ग्रान्डी इन्टरनेसनल अस्पतालमा मुटुको शल्यक्रियामा संलग्न छन् भने बसुन्धरामा उनको आफ्नै नेसनल कार्डियाटिक सेन्टर छ। 

चिसो बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ। जाडो मौसममा विभिन्न प्रकारका रोगहरू लाग्ने गर्छन्। चिसोले निम्त्याउने स्वास्थ्य समस्याहरूमा मुटुसम्बन्धी समस्या मुख्य हो। चिसोले रक्तनली र शरीरमा सिधा प्रभाव पार्दछ। चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरूले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्ने हुँदा मुटुभित्रका नलीमा रक्त सञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढ्न जान्छ। गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिम बढी रहने गर्दछ। यस्तो अवस्थामा बिरामी र वृद्धहरूलाई हृदयाघात हुने सम्भावना बढी हुने गर्दछ। 

रक्तचाप नियन्त्रण नगरे हृदयाघात हुने खतरा दुईगुणा बढी हुन्छ। मधुमेहले पनि हृदयाघातको जोखिमलाई दुईदेखि तीन गुना बढाउँछ। लामो समयसम्म मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ। मधुमेहका रोगीमा रक्तचाप र कोलस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयाघातको खतरा झन् बढी हुन्छ। संसारभरि नै हेर्ने हो भने सबैभन्दा बढी मानिसको मृत्यु मुटु र रक्तनलीसम्बन्धी रोगहरूले हुने गर्छ। हृदयाघात र मस्तिष्कघात नै मुटु र रक्तनलीसम्बन्धी प्रमुख रोगहरू हुन्। हृदयाघातपछि सबैभन्दा बढी मानिसको मृत्यु मस्तिष्कघातले हुने गर्दछ। 

गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिममा बढी हुने हुँदा संसारभर नै चिसोको बेला मुटुका रोगीको सङ्ख्या बढ्ने गर्दछ। मुटुको रोगको जटिलता बढ्दा मृत्युको सङ्ख्या पनि बढ्न जाने अनुसन्धानबाट पुष्टि भएको छ। चिसोको समयमा हृदयाघातमात्र होइन, मस्तिष्कघात पनि बढी हुने गर्दछ। चिसोमा रक्तसञ्चार प्रणालीमा बढी समस्या आउने गर्दछ। यसले गर्दा व्यक्तिको उच्च रक्तचाप बढ्ने, रक्त प्रवाहमा गडबडी गर्दछ। जसले गर्दा मुटुमा रक्तसञ्चार कमी हुन्छ। छाती दुख्ने, मुटु ढुकढुक हुने हुन्छ भने कतिपयलाई हृदयाघात पनि हुन्छ। जाडोमा कोलस्ट्रोलको मात्रा पनि बढी हुन्छ। 

जाडो मौसममा चिसोका कारणले हाम्रो शरीरमा विभिन्न रसायन वा हार्मोनहरू बढ्न जान्छ। शरीरमा उत्पन्न हुने हर्मोनहरू हुन् जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन्। ती हार्मोनहरूले हाम्रो रक्तनलीलाई साँघुरो बनाउँछ। चिसोका कारण मुटुभित्रका नलीमा रक्तसञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ। यसले गर्दा रगतको नशामा जम्ने हुन्छ। मुटुको रक्तनलीमा भयो भने हृदयाघात हुन्छ भने यदि मस्तिष्कको नलीमा भयो भने मस्तिष्कघात हुन्छ। 

यस्तै वायु प्रदूषण, शारीरिक व्यायाममा कमी, मानसिक दबाब, खानपानमा खराबी र मौसमका कारण पनि ह्दयाघातको खतरा बढ्छ। जो व्यक्तिहरूको मुटु कमजोर हुन्छ, उनीहरूमा रोग लाग्ने सम्भावना बढी हुन्छ। मौसम खराब हुने कारण सबैभन्दा बढी समस्या श्वासप्रश्वासमा पर्छ। यसका साथै, फ्लु र निमोनियाजस्ता रोगहरू हुने सम्भावना जाडो मौसममा धेरै हुन्छ। यसैले जाडो मौसममा हाम्रो शरीर र मुटुलाई शरीरको तापमान सन्तुलनमा राख्न विशेष ध्यान दिनुपर्छ। 

जोखिममा रहने वर्ग

उमेरले ६० नाघेका मानिसहरू मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्दछन्। मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूमा मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका बिरामीहरूलाई लिन सकिन्छ। 

यस्ता जोखिम वर्गमा रहेका व्यक्तिले विशेष सतर्कता अपनाउनुपर्छ। मुटुको परीक्षण गर्नुपर्छ। चिसोमा हिँड्न भएन, चुरोट, रक्सी खानु भएन। कुनै औषधि नियमित सेवन गरिरहेका व्यक्तिले अझ बढी सचेत भई औषधि नछुटाइ खानुपर्छ। जोखिममा रहेका व्यक्तिमा मुटुरोगी, दमका रोगी र अन्य दीर्घरोगी (मिर्गौला, कलेजो र मस्तिष्क) का बिरामी पर्दछन्। 

बच्ने उपाय

मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्त्वपूर्ण उपाय हो। सबै व्यक्तिले चिसोबाट बच्नुपर्छ। घरभित्र बस्दा र घर बाहिर जाँदा पनि न्यानो कपडा लगाउनुपर्छ। बिहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्दै गर्नुपर्छ। चिसो समयमा उच्च रक्तचाप, मधुमेह र कोलस्ट्रोललाई राम्रो अवस्थामा राख्नुपर्छ। सामान्यतः साठी वर्ष माथिका व्यक्ति बढी जोखिममा रहेका हुन्छन्। उच्च कोलस्ट्रोलले हृदयाघातको खतरा तीन गुना बढाउँछ। कोलस्ट्रोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै बढी हुन्छ। 

चिसो समयमा प्रायः रक्तचाप, मधुमेह र कोलस्ट्रोलको मात्रा बढ्ने गर्छ। यतिबेला कतिपय बिरामीलाई औषधि परिवर्तन गर्नु हुनसक्छ। त्यसैले त्यस्ता रोगीहरूले समय–समयमा चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नुपर्छ। स्वास्थ्यसम्बन्धी कुनै पनि प्रकारको समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ। आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी राख्नुपर्छ। 

स्वस्थ मुटुका लागि खानपानमा समेत विशेष ख्याल गर्नुपर्छ। चिसोको महिना धेरै चिल्लो कुरा खानु हुँदैन। चुरोट सेवन, मदिरा सेवन गर्नु हुँदैन। त्यस्तै बोसोयुक्त खाना बढी खाने गरिन्छ, जुन मुटुका रोगीहरूका लागि राम्रो होइन। विशेषगरी जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापानमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसै–कसैको यही बेला हृदयाघात भइ मृत्यु पनि हुने गर्दछन्। धुमपानले हृदयाघातको खतरा दुईदेखि चार गुणा बढाउँछ। 

जाडोमा व्यायाम पनि कमै गरिन्छ। यसले गर्दा थप जोखिम बढ्न जान्छ। योग, ध्यान, शारीरिक व्यायाम आदिलाई बढाउनुपर्छ। मोटोपन घटाउनुपर्छ। निद्रा पुग्नेगरी सुत्नुपर्छ। स्वस्थ व्यक्तिले पनि दैनिक व्यायाम, बिहानको हिँडाइ गर्न छाड्न हुँदैन। काठमाडौँ उपत्यकामा साँझको समय बढी हावा चल्ने हुँदा यस्तो बेला हिँड्नु थप जोखिमपूर्ण हुनेछ। 

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ। स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वास्थ राख्न मद्दत गर्दछ। वनस्पतिहरूबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ। फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ। फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ। त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनाबबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad