मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) छ भने मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।
महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार नेपालगन्जदेखि पूर्व तराईका हुस्सु/कुहिरो अपराह्नसम्मै रहने सम्भावना छ।
यसैबीच महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात तथा सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
बुलेुिटनअनुसार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
तापक्रम
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।
Shares

प्रतिक्रिया