काठमाडौं उपत्यकाको तापक्रम आज (बिहीबार) बिहान १ डिग्रीमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले दिएको जानकारीअनुसार बिहान ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री देखिएकाे हो। यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो।
‘फेरि ८ः४५ बजे अर्काे मापन गर्छौं,’ वरिष्ठ मौसमविद् पौडेलले नेपालखबरसँग भने, ‘अझ घटेर माइनसमा पनि झर्न सक्छ।’
हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस थियो। हिजो पनि बिहान ६ बजे काठमाडौंको तापक्रम ३ डिग्री रहेकामा पछि पौने ९ बजे पुनः मापन गर्दा घटेर २.९ डिग्रीमा झरेको थियो। अन्तर्राष्ट्रिय समयअनुसार पौने ९ बजेकाे मापनलाई नै आधिकारिक न्यूनतम तापक्रम मानिन्छ।
अहिले काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्ने क्रममा रहेको उनले बताए। तराई क्षेत्रमा अहिले बाक्लो हुस्सु/कुहिरो लागेको छ। प्रायः स्थानका हुस्सु/कुहिरो दिउँसोपछि हट्ने सम्भावना छ। ‘तर केही स्थानका हुस्सु/कुहिरो नहट्न पनि सक्छ,’ उनले भने।
देशका उपत्यकाजस्ता ठाउँहरूमा तुषारो पनि पर्ने सम्भावना रहेको उनले जानकारी दिए।
देशको पहाडी क्षेत्रको मौसम भने अहिले सामान्यता सफा रहेको उनले बताए। ‘आज देशका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ,’ मौसमविद् पौडेलले भने।
प्रतिक्रिया