समाज


वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ

नेपालखबर
पुस ९, २०७६ बुधबार १६:४,

वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ। धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले रु १० लाख ५० हजार ठगी गरेको महाशाखाले जनाएको छ। काठमाडौ‌ं सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनी विरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि आज महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ।

ट्राफिक उज्यालो अभियानः पन्ध्रहजार कारबाहीमा

प्रहरीले ट्राफिक नियम उल्लंघन विरूद्ध चलाएको विशेष कार्यक्रम ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनाको आठ दिनमा मात्रै १५ हजार बढीलाई कारवाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिँदै सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न शुरु उक्त अभियानका क्रममा यसरी सवारी चालकलाई कारवाही गरिएको हो।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी जिम्मेवारी बोध गराउने र कानून कार्यान्वयनका लागि विशेष कारवाही अभियान सञ्चालन हुनेगरी यही पुसबाट उक्त अभियान थालिएको थियो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढालले अभियानका क्रममा पुसको पहिलो हप्तामा मात्रै उपत्यकामा १५ हजार ४४४ सवारी चालक कारवाहीमा परेको जानकारी दिए।

अभियानका क्रममा ढोका खुल्ला राखेर चलाउने एक हजार २२, सडकमा सवारी तथा पैदलयात्रीलाई आवतजावतमा अवरोध हुनेगरी पार्किङ गर्ने ९५०, हर्न बजाउने ५००, मापसे गरी सवारी चलाउने ७९०, लेन अनुशासन पालना नगर्ने ७९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ६७०, एकतर्फी सडकमा गाडी चलाउने १८९, जथाभावी सवारी मोड्ने २२९, बढी भाडा लिने २४४ चालक कारवाहीमा परेका छन्।

यस्तै क्षमताभन्दा बढी यात्रु बोक्ने २८, सिसी टिभी हेरेर ५२९, जेब्रा क्रसिङमा सवारी नरोक्ने २९५, सवारी साधनको अवस्था ठिक नबनाई गाडी चलाउने ५७० चालकलाईसमेत कारवाही गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना गराइने जनाइएको छ। महाशाखाले मङ्सिर महिनामा ५३ हजार १९३ सवारी चालकलाई कारवाही गरेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad