हाल जम्मु-कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले (बुधबार बिहान) लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।
तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेकाले होसियारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ: तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
मौसम महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति भने देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ।
Shares
प्रतिक्रिया