भारत बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
बुलेटिनअनुसार आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार अहिले तराई क्षेत्रमा लागिरहेको हुस्सु/कुहिरो घाम लागेसँगै हट्ने छ।
Shares

प्रतिक्रिया