ad ad

समाज


सन्दीपको मुद्दामा किशोरीको उमेर विवादः अदालतले झिकायो जन्मदर्ता र नागरिकताको अभिलेख

सन्दीपको मुद्दामा किशोरीको उमेर विवादः अदालतले झिकायो जन्मदर्ता र नागरिकताको अभिलेख

फाइल तस्बिर।


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार ९:१६, काठमाडौँ

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले थप प्रमाण संकलनका लागि आदेश दिएको छ। शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै थप प्रमाण संकलन गर्न पनि अदालतले आदेश दिएको हो। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीप पक्षले उठाएको किशोरीको उमेर बारे थप प्रमाण संकलन गर्न भनेको हो। 

सन्दीपले बयान साथ पेश गरेका पीडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको हो। गत मंगलबार सन्दीपले बयान दिँदा अदालत समक्ष किशोरी नाबालिग नरहेको प्रमाण पेश गरेका थिए। उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएका तीन वटा प्रमाण पेश गरेका थिए। 

सन्दीपले किशोरीको जन्मदर्ता, बसाईसराईको कागजात र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेश गरेका थिए। अदालतले ती कागजातको वैधानिकता बारे थप प्रमाण संकलन गर्न भनेको हो। 

सरकारी वकिल कार्यालयलाई प्रहरी मार्फत ती कागजात सम्बन्धित कार्यालयबाट मगाउन आदेशमा भनिएको छ। जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रतिसहित ल्याउन अदालतले भनेको हो। 

यस्तै, किशोरीको नागरिकता प्रमाण पत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि पनि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको छ। किशोरीको नागरिकतामा भने १७ वर्ष २ महिना मात्रै पुगेको देखिन्छ। 

यस्तै अदालतले जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक समेतलाई बकपत्रका लागि जिल्ला सरकारी वकिल कार्यालय मार्फत झिकाएको छ। उनीहरुलाई मंसिर ७ गते उपस्थित गराउन जिल्ला अदालतले भनेको हो। 

उनीहरूलाई प्रहरीमार्फत झिकाएर बकपत्रका लागि इजलासमा पेश गर्न भनिएको छ। प्रहरीले क्रिकेटर देव खनाल, सहाव आलम, काठमाडौं इन होटल, नागरकोटको होटलका कर्मचारी, किशोरी बस्ने होस्टल सञ्चालक लगायतसँग बयान लिएको थियो। प्रहरीले सोधपुछ गरेका व्यक्तिहरुलाई बकपत्रका लागि झिकाइएको हो। 

सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .