दक्षिण अफ्रिका अष्ट्रेलियामा जारी टी२० विश्वकपको समूहचरणबाटै बाहिरिएको छ।
आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले १३ रनको ऐतिहासिक जित हात पारेसँगै दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्नबाट वञ्चित भएको हो।
आइतबार भएको खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रिकालाई हराउने क्रममा बेन्डन ग्लोभरले तीन तथा फ्रेड क्लासेन र बास डे लीडले समान २/२ विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि कोलिन एकरम्यानले अविजित ४१ रनको पाली खेले। त्यस्तै स्टेफन माइबर्गले ३७ रन बनाए।
यससँगै भारत पनि सेमिफाइनलमा पुग्ने पक्का भएको छ। आजै हुने पाकिस्तान र बंगलादेश तथा जिम्बाबे र भारतबीचको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ।
Shares
प्रतिक्रिया