समाज


सन्दीपको बलात्कार मुद्दा : जवाफी बहस सकियो, आजै आदेश आउने

सन्दीपको बलात्कार मुद्दा : जवाफी बहस सकियो, आजै आदेश आउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १३:२४, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई लागेको नाबालिग बलात्कारको मुद्दामा पीडितको पक्षबाट जवाफी बहस सकिएको छ।

गत मंगलबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा जारी सुनुवाइमा जवाफी बहस सकिएसँगै अब थुनछेकको आदेश आउन लागेको हो। 

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले जवाफी बहस सकेका छन्।

बहस सकिएसँगै अहिले जिल्ला अदालतमा आदेश तयार गरिँदैछ। आदेश तयारी भएसँगै शुक्रबार अपरान्हसम्ममा यो मुद्दामा न्यायाधीश घिमिरेले कारागार पठाउने या रिहा गर्ने निर्णय दिनेछन्। 

बिहीबार लामिछानेका तर्फबाट बहस सकिएको थियो। शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी पक्षलाई प्रतिवाद गर्ने समय दिइएको थियो। 

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको हो। 

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ। यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोग पत्रमा गरिएको छ। 

तर लामिछानेले भने आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन्। 

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको हो। 

पहिलो पटक म्याद थप गर्दै अदालतमा किशोरी नाबालिग नरहेको सन्दीप आफैंले बताएका थिए। 

उनले बयानमा पनि यो कुरामाथि जोड दिए। तर उनले अहिले किशोरी नाबालिग नरहेको भन्ने प्रमाण नै पेश गरेका छन्।

अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट बयानका क्रममा सन्दीपले किशोरीको उमेर १८ वर्ष बढी रहेको प्रमाण पेश गरेका हुन्। 

उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेस गरेका छन्। जसमा किशोरीको उमेर १८ वर्ष बढी छ। 

लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ।  गत भदौ २१ गते उनीविरुद्ध जाहेरी परेको थियो। 

क्रिकेट खेल्न केन्या हुँदै वेस्टइन्डिज पुगेका उनी बलात्कार आरोप लागेपछि एक महिना विदेशमै बसे। त्यसपछि उनी गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad