समाज


सरकारले २ करोड ५० लाखमा किन्यो महाकवि देवकोटाको घर, अब संग्रहालय बनाइने

सरकारले २ करोड ५० लाखमा किन्यो महाकवि देवकोटाको घर, अब संग्रहालय बनाइने

नेपालखबर
पुस २, २०७६ बुधबार ५:३१,

प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणानुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवकोटा संग्रहालय’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ।

काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको हो। विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घोषणा गरेको उक्त संग्रहालय निर्माणको काम जग्गा प्राप्तिका कारण ढिलाइ भएको थियो।

प्रज्ञा प्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए। हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोराहरू प्रा. डा. पद्मप्रसाद देवकोटा र डा. दीपक देवकोटालाई प्रतिष्ठानले रु दुई करोड ५० लाख हस्तान्तरण गरिसकेको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। देवकोटाकी छोरी अम्बिका रिमालले प्रधानमन्त्रीलाई सम्बोधन गरी ‘देवकोटाको घरलाई संग्रहालय बनाइ पाऊँ’ भनी निवेदन दिएकी थिइन्।

देवकोटाको आवासलाई संग्रहालय बनाउने सम्बन्धमा गठित सिफारिस समितिको प्रतिवेदन–२०७६ लाई आधार मानी मन्त्रिपरिषद्को हालैको बैठकले निर्णय गरेअनुसार देवकोटाका छोराहरुलाई उक्त मुआब्जा दिइएको हो। उनीहरुले आफ्नो हक भोगको उक्त कविकुञ्ज र घरले चर्चेको जग्गामाथिको हक मालपोत कार्यालय चारखालमा आफैँ उपस्थित भई नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा कानूनतः हस्तान्तरण गरेको कुलपति उप्रेतीले बताए।

कुलपति उप्रेतीले देवकोटाको आवासलाई संग्रहालय बनाउन प्रधानमन्त्रीले देखाउनुभएको सद्भाव र उत्प्रेरणापूर्ण चासो तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे। राससले राखेको जिज्ञासामा कुलपति उप्रेतीले भने ‘देवकोटा संग्रहालय चार तलाको हुनेछ। जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्न सर्वप्रथम विज्ञहरुसँग परामर्श गरी विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ। भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोसिस गरिनेछ।’

संग्रहालयको भुइँ तलामा श्रव्यदृश्यको व्यवस्था गरी तयार हुने कक्षमा त्यहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाउनेछ। कुलपति उप्रेतीका अनुसार यो कक्ष अहिलेसम्मकै नौलो कक्ष हुनेछ। भवनको दोस्रो तल्लामा महाकवि देवकोटाले आफ्नो छोटो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन्। देवकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्रे, विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, फोटो, देवकोटाले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुनेछन्। विभिन्न व्यक्तिलाई सम्पर्क गरी उनीहरुले संग्रह गरेर राखेका वस्तु उपलब्ध गराउन आग्रह गर्ने उनले जानकारी दिए।

संग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेखेको लेखको पाण्डुलिपि र विदेशी लेखकले लेखेको पुस्तक सुरक्षितसाथ माइक्रोफिल्मिङ गरी अध्यावधिक गर्ने उप्रेतीले बताए। चौथो तलामा संग्रहालयमा आगन्तुुक, विदेशी अतिथि आएर छलफल तथा अन्तक्र्रिया गर्न सक्नेछन्। तला एक हिसाबले वाचनालयजस्तो हुने उप्रेतीको कथन छ। ‘संग्रहालयका लागि धेरै मानिससँग देवकोटासम्बन्धी धेरै सामग्री लिने प्रयास गर्नेछौँ’, उनले भने।

देवकोटाबाहेक अरु साधकको पनि यस्तै सकारात्मक काम हुन्छ कि भनी सोधिएको प्रश्नमा उप्रेतीले लेखनाथ सदनलाई पनि विस्तार गर्ने योजना रहेको सुनाए। उनले कास्कीमा लेखनाथ पौडेलको परिवारलाई सम्पर्क गरी तीन रोपनी जग्गा लिएर लेखनाथ संग्रहालय बनाउने योजना प्रतिष्ठानले बनाए पनि व्यक्तिव्यक्तिको घर किनेर संग्रहालय बनाउन उपयुक्त नभएकाले त्यसलाई अगाडि नबढाइएको बताए।

उनले थपे, ‘नेपालमा पहिलो पटक प्रतिभाको सम्मानस्वरुप सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई संग्रहालय बनाउने पहिलो चरणमा प्रवेश गरेको खुशीयाली साट्न चाहन्छौँ। त्यस अवसरमा देवकोटाकी छोरी दाता अम्बिका रिमालले सरकारको निर्णयपछि आफू निकै खुशी भएको बताउँदै संग्रहालय बनाउन आफूले सक्दो सहयोग गर्ने बचन दिनुभयो।”

उपकुलपति जगमान गुरुङले नेपाली इतिहासका शीर्ष पुरुष देवकोटाको सम्झनामा बनाइने संग्रहालय भावी पुस्ताका लागि उपयोगी हुने बताए। सदस्यसचिव जगतप्रसाद उपाध्यायले देवकोटाको घरको कित्ता नंं २२९६ रहेको र यसको स्वामित्व गुठी संस्थानसँग रहेको भए पनि देवकोटाको छोराहरुबाट आफ्नो मोहियानी हक मात्र प्रज्ञाप्रतिष्ठानको नाममा आएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad