समाज


पहाड उक्लिएर पोखर पुगेको छठ महोत्सव मनाउन महानगरले बनायो पूजा समिति

पहाड उक्लिएर पोखर पुगेको छठ महोत्सव मनाउन महानगरले बनायो पूजा समिति

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १९:५५, पोखरा

पोखरा–३, नदीपुरमा नारायणथान धार्मिक क्षेत्र पर्छ। सेती नदीको किनारामा रहेको नारायणथानमा नारायण, महादेवलगायतका देवीदेवताका मन्दिर छन्। भारतीय साधुहरुको बासस्थानको रुपमा समेत चिनिने नारायणथान परिसरमा पछिल्लो समय एक देवीको मन्दिर थपिएको छ। ती देवी हुन्, छठीमाता।

पोखरामा रहेका मधेशमूलका श्रद्धालुहरुले त्यो मन्दिर स्थापना गरेका हुन्। पोखरामा नारायणथानबाहेक लेकसाइडको केदारेश्वर मन्दिर, भद्रकाली मन्दिरस्थित माछापोखरी, कालीखोलामा पनि छठ मनाइन्छ। तर, सबैभन्दा भव्य नारायणथानमै हुन्छ। मन्दिर पनि भएकाले श्रद्धालुहरुको रोजाइ नारायणथान भएको हो। 

पहाड उक्लिएको छठ अब यहाँको पनि पर्व भएको छ। मुक्तिनाथ प्रवेशको मूलद्वार पोखरामा आउँदो वर्षदेखि छठलाई महोत्सवको रुपमा मनाइने तयारी थालिएको छ। हरेक उत्सवलाई महोत्सव बनाउने पोखराले छठको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने योजना बुनेको छ। पोखरा महागनरले यो अभियानलाई सघाएको छ। 

पर्वलाई महोत्सवको रुपमा विकसित गर्न १६ सदस्यीय पोखरा छठ पूजा समिति गठन गरिएको छ। रामआधार गुप्ताको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा अनिल गुप्ता र विनोद रोमिया, महासचिवमा सन्तोष बानियाँ सचिवमा गोरखनाथ जैसवाल, कोषाध्यक्षमा दिनेशकुमार चौधरी छन्। 

यस्तै सदस्यहरुमा राजकुमार गुप्ता, भाष्कर उपाध्याय, मनोज कुशतामा, रोमितकुमार चौधरी, कृष्णप्रसाद गुप्ता, प्रदीप गुप्ता, शिलप्रसाद कुशतामा, विक्रम कुशतामा, सुजेत कुमार, कृष्ण धोली, उदेय शाह, भुतरेश्वर ठाकुर र सुरेन्द्र कुमार रहेका छन्।  

समितिका कोषाध्यक्ष दिनेशकुमार चौधरीले सुन्दर नगरी पोखरामा आयोजना गरिएको छठको प्रचार गर्नसके यसले धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउने धारणा राखे। उनले यो पर्वलाई तराइको मात्र पूजा भनेर मानिँदै आए पनि यो सनातन धर्मको अंगको रुपमा रहेकाले सबैले मनाउनुपर्नेमा जोड दिए।

पोखरामा पाँच हजार बढीले छठ पूजा गर्ने समितिका सचिव गोरखनाथ जैसवालले जानकारी दिए। छठ पर्व सूर्यको अनुष्ठान हो। सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई हर्षोल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारमा श्रृंगार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिइन्छ। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad