दार्चुलामा भारतीय पक्षले सडक निर्माणका लागि विस्फोट गर्दा ढुंगा लागेर नेपाली बालकको मृत्यु भएको छ।
दार्चुलाको व्याँस गाउँपालिका—२ तम्पाकुका १२ वर्षीय पवन महराको ज्यान गएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बालकको मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
उनले महाकालीपारी पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट गर्दा उछिट्टिको ढुंगा लागेर बालकको ज्यान गएको बारे मृतकका परिवारले आफूलाई जानकारी दिएको र यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका हुन्।
मन्त्री बडूले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको उनकाे सचिवालयले जनाएको छ।
‘मैले मृतकका परिवारसँग बुझ्दा भारतमा सडक निर्माणका क्रममा गराइएको बिस्फोटका कारण ढुंगा उछिट्टिएर बालकको ज्यान गएको भनेका छन्, स्थानीय प्रशासनलाई यसको यथार्थ पत्ता लगाउन भनेको छु’ मन्त्री बडूले भने, ‘हामीले यो घटनालाई गम्भीरताका साथ लिएर राहत र क्षतिपूर्तिका लागि तुरुन्त कुटनीतिक पहलका लागि समेत निर्देशन दिएको छु।’
मन्त्री बडूले सडक निर्माणका क्रममा बिस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले गम्भीर त्रुटि गरेकोले कुटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति र फेरि यस्तो हुन नदिन पहल गर्ने बताए।
महाकाली पारि पिथौरागढ जिल्ला धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक निर्माण गरिरहेको छ।
Shares
प्रतिक्रिया