गएराति देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० एयरपोर्टस्थित सडकमा प्रदेश २–०३८ प ५०३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडियाचोक बस्ने २६ वर्षीय रोसन सुनाम र सोही नगरपालिका हललाईन बस्ने २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा बा.१२ च २११४ नम्बरको कारले सुपप्र ०१–००८ प ५७५६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-२ तेघरी बस्ने ३३ वर्षीय शेर बहादुर पुनमगरको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, कैलालीकै कैलारी गाउँपालिका–५ स्थित सडकमा से.६ प ५५८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–५ पवेरा बस्ने २२ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
यता, रूपन्देही, बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा लु८१ प २५६६ नम्बरको मोटरसाइकल र लु २८ प ४३८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा लु.८१ प २५६६ नम्बरको मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-११ बस्ने २२ वर्षीय मुस्कान नेपालीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एड्मन सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका लु२८प ४३८० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही असपतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया