समाज


बेलायतमा २४ देश सहभागी सैन्य अभ्यासमा नेपाली सेनाले जित्यो पदक

बेलायतमा २४ देश सहभागी सैन्य अभ्यासमा नेपाली सेनाले जित्यो पदक

नेपालखबर
असोज २५, २०७९ मंगलबार १९:२२, काठमाडौँ

संयुक्त अधिराज्यको वेल्स ब्रेकनमा सञ्चालन भएको युद्धकालीन सैन्य अभ्यासमा नेपाली सेनाले रजत पदक जितेको छ। 

असोज २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको ‘एक्ससाइज क्याम्ब्रेइन पट्रोल २०२२’ मा नेपाली सेनाको टोलीले रजत पदक प्राप्त गरेको सैनीक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। 

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाका सेनानी बलबहादुर आलेको नेतृत्वमा १० जना सैनीकको टोली असोज ४ गते बेलायततर्फ प्रस्थान गरेको थियो। 

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका ८४ र नेपाल समेत अन्य २४ देशका गरी १११ सैन्य टोलीहरूको सहभागिता रहेको थियो।

युद्धकालीन विशेष परिस्थितिहरुको कल्पना गरी दुस्मनका गतिविधि समेटेर सञ्चालन गरिने विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरुको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्यांकन गरिन्छ। 

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने अभ्यासमा सहभागीहरुले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्तीका सामग्रीसहित करिव ५० किलोमिटर दूरी पार गर्नुपर्छ। 

दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरुले दिन रातमा गर्ने निर्धारित स्थानहरुको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइतेहरुको व्यवस्थापन, विस्फोटक पदार्थहरु पत्ता लगाउने क्षमता लगायत रसायनिक जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका दक्षताहरुको परीक्षण गरिन्छ। 

बेलायतमा सञ्चालन हुने सैनिक प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरु सहभागी हुन्छन्। 

सन् १९६० बाट वार्षिक रुपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आएको छ।

रजत पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च हुने, बेलायत लगायत अन्य सहभागी सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास नेपाली सेनाको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad