ad ad

समाज


मौसम : तीन प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

दसैँभित्र मनसुन नबाहिरिने
मौसम : तीन प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७९ शुक्रबार ७:२३, काठमाडौँ

अहिले (असोज १४ शुक्रबार बिहान) केही प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शुक्रबार बिहान ७ बजे दिएको जानकारीअनुसार यतिखेर प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो। ‘अन्य प्रदेशमा अहिले पानी परेको छैन’, उनले भने। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

मौसमविद् अधिकारीका अनुसार दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ। 

दसैँभित्र मनसुन नबाहिरिने
पानी पार्ने प्रणाली मनसुन अन्त्य हुने समय आउनै लागेको भए पनि अबको २/४ दिनभित्र यो बाहिरिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। 

‘मनसुन अन्त्यतिर छ, तर २/४ दिनभित्र यो बाहिरिने सम्भावना अहिलेलाई देखिएको छैन’, माैसमविद् अधिकारीले नेपालखबरसँग भने, ‘यसले गर्दा दसैँभित्र मनसुन सकिने सम्भावना छैन।’

तर त्यस्तो ठूलो वर्षाको सम्भावना अहिलेलाई नदेखिएको मौसमविद् अधिकारीले बताए।

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्छाैं, यस हिसाबले फूलपाती (असोज १६) गतेसम्म खासै वर्षाको गतिविधि हुने देखिएको छैन, त्यसपछि चाहिँ वर्षा अलि हुन्छ कि भन्ने संकेत छ।’

मौसमविद् अधिकारीका अनुसार गत जुन ५ मा नेपाल भित्रिएको मनसुन बाहिरिने सरदर मिति यही अक्टोबर २ तारिख हो। तर यसमा केही तलमाथि हुन सक्छ। 

‘अहिलेसम्मको संकेतले सरदर मितिभन्दा पहिले मनसुनी वायु बाहिरिने सम्भावना देखिएको छैन’, मौसमविद् अधिकारीले भने। 

मनसुन बाहिरिएपछि वर्षायाम अन्त्य हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .