मनसुन अर्थात् वर्षायाम अब सकिने बेला भएकाले दिनप्रतिदिन वर्षाको सम्भावना घट्दै गएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आज (मंगलबार) दिएको जानकारीअनुसार अब मनसुन अन्त्य हुन एक हप्ता पनि छैन। अर्थात् यही सेप्टेम्बर सकिएपछि मनसुन सकिन्छ।
‘आधिकारिक रूपमा मनसुन आउँदो आइतबार (असोज १६ गते) सकिन्छ’, मौसमविद् मानन्धरले भनिन्, ‘तर अहिलेदेखि नै वर्षा हुने सम्भावना दिनप्रतिदिन घट्दै गएको छ।’
उनका अनुसार केही दिनअघिसम्म दसैंको समय भारी वर्षा पनि हुने सम्भावना देखिएको थियो। तर अहिले त्यो सम्भावना नदेखिएको उनले बताइन्। ‘वर्षा नै नहुने त होइन’, उनले भनिन्, ‘तर त्यस्तो ठूलो वर्षाको सम्भावना अब छैन।’
मौसमविद् मानन्धरका अनुसार अहिले बिहान पनि खासै कतै वर्षा भइरहेको छैन। ‘प्रदेश १ र बागमती प्रदेशका एक दुई ठाउँमा फाटफुट वर्षा भएको छ कि’, उनले भनिन्।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ। नदीनाला तथा खहरे खोलामा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन सामान्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया