ad ad

समाज


काठमाडौंको सडकमा शनिबार केपी ओली र बालेन्द्रको जम्काभेट हुने

ओलीको ‘वाकाथन’ र बालेन्द्र नेतृत्वको ‘यमबुद्ध शान्ति दौड’ को समय र स्थान जुध्यो
काठमाडौंको सडकमा शनिबार केपी ओली र बालेन्द्रको जम्काभेट हुने

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १३:४९, काठमाडौँ

असोज १ गते शनिबार बिहानै नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा काठमाडौंमा वाकाथन ( पैदलयात्रा) आयोजना गर्ने भएको छ । सोही दिन एउटै समय र स्थानबाट काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा ‘यमबुद्ध शान्ति दौड’ आयोजना हुँदैछ ।

दुबै कार्यक्रमको समय र स्थान जुधेका कारण भीड व्यवस्थापनमा प्रहरीलाई समस्या पर्ने देखिएको छ ।

यमबुद्ध फाउन्डेसनले बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आयोजना गर्न लागेको ‘यमबुद्ध शान्ति दौड’का लागि शनिबार बिहान ६ बजे नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको जमघट गराउन लागेको छ ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ ।

शान्ति दौडमा मेयर बालेन्द्रसहित खेलकूद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने फाउन्डेसनले जनाएको छ । सहभागीहरुले स्व. र्यापर यमबुद्ध (अनिल अधिकारी)को तस्बिर अंकित टि–शर्ट लगाउनेछन् ।

एमाले नेताहरुका अनुसार शनिबार बिहान पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्म केपी ओलीको नेतृत्वमा वाकाथन (प्रभात भ्रमण) आयोजना गरिएको छ ।

बिहानै नयाँ बानेश्वर चोकबाट अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली वसन्तपुर डबलीका लागि पैदल यात्रामा निस्किनेछ। एमालेको टोलीले मैदीदेवी, लैनचौर, कालिमाटी र कुपन्डोलबाट पनि टोली निस्किने छन्।

एमालेले राजधानीका पाँचवटा चोकबाट असोज १ गते बिहान पौने ७ बजे वाकाथन थाल्ने भएको छ। सबै टोली ८ बजे वसन्तपुर पुगेपछि ओलीले सम्बोधन गर्ने एमालेको कार्यक्रम छ।

एमालेले संविधान दिवसलाई जनस्तरबाटै राष्ट्रिय पर्वका रुपमा मनाउने उद्देश्यले असोज १ गते वाकाथन आयोजना गर्न लागेको हो । कार्यक्रमबारे एमालेका उपमहासचिव विष्णु रिमाल नेपालखबरसँग भन्छन्,‘३ गते संविधान दिवस भएता पनि १ गते शनिबार पर्ने भएकाले उक्त दिन वाकाथन आयोजना गरिएको हो।’

विद्यार्थी एवं युवापुुस्तामा संगीतप्रति प्रेमभाव बढाउने र शान्तिको प्रवर्ध्दन गर्ने उद्देश्यले शनिबार यमवुद्ध शान्ति दौड आयोजना गरिएको फाउण्डेसनले जनाएको छ ।

शनिबार बिहानको कार्यक्रमबारे यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीले नेपालखबरसँग भने, ‘हामीले काठमाडौं जिल्ला प्रशासनसँग छलफल गरेरै कार्यक्रमको मिति र समय तय गरेका हौं । असोज १ गते शनिबार परेको र विश्वकर्मा पूजाको दिनसमेत भएकाले सडक प्रायः खाली हुने हुँदा यही दिन पारेर यमबुुद्ध शान्ति दौड आयोजना गर्न लागिएको हो ।’

शान्ति दौडमा विद्यालय र कलेजका दसौं हजार युवा विद्यार्थीहरु सहभागी हुने र काठमाडौंका मेयर एवं र्यापर बालेन्द्र शाहसहित खेलकूद र संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरु सहभागी हुने अधिकारीले नेपालखबरलाई बताए । 

संविधान दिवसमा एमालेको वाकाथन, असोज १ गते बिहान ओलीसहित नेताहरु हिँडेर वसन्तपुर जाँदै

    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .