सशस्त्र प्रहरीले विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएको लाखाैं मूल्यका अवैध सामान बरामद गरेको छ।
सोही क्रममा सिराहा जिल्लाको सिराहा नगरपालिका २० स्थित सीमाक्षेत्रबाट करिब एक लाख ३२ हजार रुपैयाँ बरारबको चौपाया बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको २२ वटा पाडाहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिराहाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद चौपाया भन्सार कार्यालय सिराहामा बुझाईएको छ।
यस्तै, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिब १ ग्राम ६ मिलिग्राम खैरो हेराेईनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको केराबारी गाउँपालिका १० बस्ने २९ वर्षीय अनुज खत्री, सोही जिल्लाकै विराटनगर महानगरपालिका ६ बस्ने ४१ वर्षीय तेजबहादुर कार्की र २० वर्षीय अयुव आलम छन्।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका खत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेपछि उनी सँगै रहेका कार्की र आलमलाई समेत पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद खैरो हिरोईनसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ।
यता, पर्सा जिल्लाको जगरनाथ गाउँपालिका १ पिडारी गुठी स्थित औरिया खोलाबाट करीव ११ किलो चरेश बरामद गरेको छ। बीआर २२ जेट ३१२५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। चरेश ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त चरेश तथा मोटरसाईकल छाडी फरार भएका थिए।

प्रतिक्रिया