समाज


यस वर्ष तिहारमा सूर्यग्रहण, पञ्चाङ्ग समितिद्वारा शास्त्रसम्मत निर्णय

यस वर्ष तिहारमा सूर्यग्रहण, पञ्चाङ्ग समितिद्वारा शास्त्रसम्मत निर्णय

फाइल फाेटाे


नेपालखबर
भदौ २२, २०७९ बुधबार १९:९, काठमाडौँ

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारमा ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यसका आधारमा शास्त्रसम्मत निर्णय गरिएको जनाएको छ। समितिले आज यस वर्षको तिहार अर्थात् स्वन्ति पर्वका विषयक छलफलमा समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले कात्तिक ८ गते मङ्गलबार ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यस दिन चार प्रहरसम्म ग्रहण बार्नुपर्ने शास्त्रीय नियमअनुसार निर्णय गरिएको जानकारी गराए। 

कात्तिक ९ गते सूर्योदय नभएसम्म केही गर्न नहुने शास्त्रीय वचनअनुसार निर्णय गरिएको समितिले जनाएको छ। तिहारका विषयमा पाटन र भक्तपुरका नेवार समुदायले फरक फरक निर्णय सार्वजनिक गरेपछि समितिले आज गरेको छलफलका क्रममा समितिमा फेरि छलफल गर्ने र अर्को वर्षदेखि यस्ता विषयमा पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्नुअघि नै सरोकार भएकासँग छलफल गरिने पनि अध्यक्ष अधिकारीको प्रतिबद्धता छ। 

समिति सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ग्रहणको शास्त्रीय आधार नबुझी यस वर्षको तिहारको निर्णय हुन नसक्ने भएकाले त्यसैअनुरुप निर्णय गरिएको बताए। समितिले शास्त्रसम्मत निर्णय गरेको उल्लेख गर्नुहुँदै उहाँले शास्त्रसम्मत निर्णय मान्ने कि स्वेच्छाचारितामा अघि बढ्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र रहेकामा जोड दिए। 

कार्यक्रममा समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, पञ्चाङ्गकार सिद्धिलक्ष्मी व्यञ्जनकार, नेवाः देय दबूका अध्यक्ष पवित्र बज्राचार्य, हीरण्यवर्ण महाविहारका पुष्पराज बज्राचार्य, भक्तपुरका ज्योतिषी कृष्णराज जोशी, जोशी समाजका सुरेन्द्रगोविन्द जोशी, ललितपुरका ज्योतिषीहरू कीर्तिमदन जोशी र केशवगोविन्द जोशीलगायतले छलफल जारी राखी ठोस निर्णयमा पुग्नुपर्नेमा जोड दिएका थिए। 

यस वर्ष कात्तिक ५ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु हुने समितिले जनाएको छ। ५ गते यमदीपदान, धनत्रयोदशी (धनतेरस), ६ गते आइतबार कागतिहार, ७ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, ८ गते मङ्गलबार गाईपूजा, खण्डग्रास सूर्यग्रहण, ९ गते बुधबार गोवर्द्धन पूजा, आत्मपूजा (म्हपूजा) र १० गते बिहीबार भाइटीका (किजापूजा) परेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad