ad ad

समाज


‘बालेन्द्रले शीतलनिवासमा सवारी चलाउनुभएको छैन’

‘बालेन्द्रले शीतलनिवासमा सवारी चलाउनुभएको छैन’

नेपालखबर
साउन १०, २०७९ मंगलबार २०:५५, काठमाडौँ

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार अपरान्ह पत्रकार र राष्ट्रपतिबीच सम्वाद चलिरहेको थियो । बरिष्ठ पत्रकार एवं लेखक कृष्णमुरारी भण्डारीले केही प्रश्न तेर्स्याए ।

कृष्णमुरारी भन्दै थिए, ‘गोरखा भूकम्पको केन्द्रविन्दुमा स्तम्भ शिलान्यास गर्न जाँदा राष्ट्रपतिज्यूले कालो चश्मा लगाएकोबारे मैले लेख नै लेखेको थिएँ । कहिले सेनालाई जुत्ता बोकाएको खबर आउँछ । अहिले राजा–महाराजाकै पारामा बालेन्द्र शाहलाई परैबाट भेट गरेको तस्बिर भाइरल भएको छ....’

‘एकछिन है कृष्णमुरारीजी...’ राष्ट्रपतिले उनलाई वीचैमा रोकिन् र काठमाडौंका मेयर बालेन्द्र शाहसँग आफ्नो भेटवार्ता नभएको स्पष्टीकरण दिइन् ।

राष्ट्रपतिले पत्रकारसँग स्पष्ट पार्दै भनिन्,‘बालेनजीले त यहाँ मेयरका रुपमा सवारी चलाउनुभएको छैन । पानी दिवसका दिन केही विज्ञहरुलाई बोलाएको हो, मेयर साहेब भएपछि बोलाएको छैन ।’

मेयर बनेपछि बालेन्द्रसँग शीतलनिवासमा भेटवार्ता नभएको स्पष्ट पार्दै राष्ट्रपतिले अगाडि भनिन्, ‘बोलाउने सूचीमा त हुनुहुन्छ।’

 

बालेनसँग भेट भएको भन्दै सामाजिक सञ्जालमा आएको तस्बिरबारे आफूलाई थाहा नभएको बताउँदै राष्ट्रपतिले भनिन्,‘कसैले खण्डन पनि गरौं भने, तर मैले खण्डन–मण्डन नगरौं भनें ।’

पत्रपत्रिकामा आफ्नाे विषयमा विभिन्न समाचारहरु आउँदा खण्डन गरिरहन मन नलाग्ने राष्ट्रपतिले अनुभव सुनाइन् ।

असार १६ गते सामाजिक सञ्जालमा देखिएको तस्बिर झट्ट हेर्दा भर्खरै को भेटवार्ता हो कि भन्ने मानिसहरुलाई भ्रम पार्ने खालकाे थियो । तर, मेयर बालेन्द्र शाहले चुनाव जितिसकेपछि राष्ट्रपतिसँग भेट गरेका थिएनन् । उनले एक्लै शीतल निवासमा गएर भेटवार्ता गरेका पनि होइनन्।

शीतलनिवास स्रोतका अनुसार यो तस्बिर गत चैत ८ गतेको हो। त्यसबेला स्थानीय चुनाव भइसकेको थिएन। त्यो दिन विश्व पानी दिवस परेको थियो। विश्व पानी दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका केही जलस्रोत विज्ञलाई शीतलनिवासमा आमन्त्रण गरेर छलफल गरेकी थिइन्। 

त्यहाँ केही सरकारी सञ्चार माध्यमका पत्रकारसमेत १२ जना निम्तालु सहभागी थिए। कार्यक्रममा बालेन्द्र शाह पनि निम्त्याइएका थिए। तस्बिरमा देखिएको दृश्यमा बालेन्द्रले उभिएर राष्ट्रपतिसमक्ष आफ्ना कुराहरु राखिरहेको देखिन्छ। तर, कोभिडको स्वास्थ्य प्रोटोकोल अनुसार दुरी कायम गरेर छलफल गरिएको शीतल निवास स्रोतको भनाइ छ।

सामाजिक सञ्जालमा आएको पुरानो तस्बिरमा सहभागी अन्यलाई नदेखाई बालेन्द्रलाई मात्रै देखाइएको थियो।

नागरिकताबारे अध्ययन गर्छु, गठबन्धन मेरो मामला होइन : राष्ट्रपति

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .