समाज


झुन्डिएका तीन किशोरीमध्ये दुईको साथमा भेटियो मोबाइल फोन

मजदुरी गर्छ परिवार, पालिका उपाध्यक्ष भन्छन् : गाउँ नै शोकमा छ
झुन्डिएका तीन किशोरीमध्ये दुईको साथमा भेटियो मोबाइल फोन

नेपालखबर
साउन ८, २०७९ आइतबार १३:४७, काठमाडौँ

झापाको कचनकवल गाउँपालिका-५ का तीन किशोरी झुन्डिएको अवस्थामा भेटिएपछि गाउँबासी नै स्तब्ध भएका छन्। 

शनिबार मध्यान्ह १२ बजे बिदाको दिन घुम्न जाने भन्दै हिँडेका किशोरी सुनकोसी चिया बगानको स्थानीय खोला किनारस्थित बयरको रुखमा झुन्डिएको घटनाले गाउँबासी शोकमा परेका छन्। 

झुन्डिएको अवस्थामा मृत भेटिएका किशोरीहरु आफैं पनि चिया बगानमा मजदुरी गर्थे। उनीहरु तीनैजनाको परिवार गाउँमै विपन्न मानिन्छन्। 

कचनकवल-५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव अहिले घटनास्थलबाट निकालेर धरान पठाइएको छ।

कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई तीन किशोरीका परिवारले नै मजदुरी गरेर जीविका चलाउँदै आएको बताएका छन्। उनका अनुसार ती किशोरीहरु पनि चिया बगान सञ्चालकले बोलाएको बेला मजदुरी गरेर परिवारको खर्च चलाउन सघाउँथे। 

'परिवारका अन्य सदस्यसँगै किशोरीहरु पनि बगानमा काम खुलेका बेला पत्ती टिप्न गइरहन्थे। किशोरीहरुले घर खर्च र परिवार चलाउन सहयोग गर्थे', उनले भने, 'शनिबार बिदा भएकाले पञ्चम गणेशकी छोरी करिनाले भात खाएर साथीहरु जान्छु भनेर हिँडेको खुलेको छ। बाबुआमा उनी साथीहरुसँग गएकी भनेर ढुक्क भएर बसेछन्। तर आइतवार बिहान स्थानीय खोला किनारमा करिना, अञ्जली र कल्पनाको शव भेटियो।'

उनका अनुसार एकजनाले बयरको रुखको अलग्गै हाँगामा पासो लगाएकी थिइन्। अन्य दुईजना एकै ठाउँ झुन्डिएका थिए। करिनाले गम्छामा डोरी बाँधेर पासो लागेको अवस्थामा भेटियो। एकजनाले गाई बाख्रा बाँध्ने डोरी प्रयोग गरेकी थिइन् भने अर्काले नाइनलनको डोरी। जुन डोरी तन्किएर ती किशोरीको घुँडासम्म पानी चोबिएको अवस्थामा भेटिएको थियो।

भट्टराईका अनुसार प्रहरीले दुईजनाको साथबाट मोबाइल फोन पनि फेला पारेको छ। फेला परेका दुवै एन्ड्रोइड  मोबाइल प्रहरीले बरामद गरेर त्यसको कल डिटेल र म्यासेजबारे अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार घटनापछि कचनाकवल स्तब्ध छ। 'घटनाबारे अनुसन्धान हुँदैछ। हामीले तीनै किशोरीका परिवार र छिमेकीलाई सोध्दा पनि कुनै गाली या झगडा गरेको खुलेन', उनले भने, 'करिनाका बुवालाई वीरबल गणेशलाई पनि भेट्दा केही विवाद थिएन, गाली पनि गरेको थिएन भनेका छन्।'

पाठकका अनुसार अनुसन्धानले जारी रहेकाले घटनाको कारणसम्म पुग्ने कोसिस भइरहेको बताए। उनले स्थानीय पालिकाको समन्वयमा तीनै शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताएका छन्। 

उपाध्यक्ष भट्टराईले उनीहरु गाउँपालिकाकै विपन्न समुदायका सदस्य थिए। 'परिवार नै अर्काकोमा मजदुरी गरेर खानुपर्ने अवस्थाका थिए', उनले भने, 'किशोरीहरुको पनि त्यही अवस्था थियो। यो घटनाले गाउँ नै शोकमा डुबेको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .