ad ad

समाज


काठमाडौंपछि ललितपुरका २ जनामा हैजा पुष्टि

काठमाडौंपछि ललितपुरका २ जनामा हैजा पुष्टि

नेपालखबर
असार ८, २०७९ बुधबार १०:९, काठमाडौँ

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ।

केही दिनअघि मात्रै काठमाडौंको बागबजारका एकै घरका दुई दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो। 

बागबजारका एकै घरका २ जनामा हैजा पुष्टि, टेकुमा उपचार हुँदै

पछिल्लो समय हैजा पुष्टि भएका बिरामी बागबजार क्षेत्रका होइनन्। ती बिरामी ललितपुरका भएको चिकित्सकले बताएका छन्। उनीहरुको टेकु अस्पतालमै उपचार भइरहेको छ। 

‘चार दिनअघि बागबजारका दुई बिरामीमा हैजाको संक्रमण देखिएको थियो। मंगलबार संक्रमण पुष्टि भएका बिरामी ललितपुरको सानेपा क्षेत्रका हुन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालखबरसँग भने, ‘यसले हैजाको संक्रमण उपत्यका भरी नै फैलिने जोखिम बढाएको छ। यसतर्फ हामी सजग हुनुपर्छ।’

भिब्रियो कलेरा नामक ब्याक्टेरिया दूषित पानीको माध्यमबाट मानिस फैलिन्छ। पुनका अनुसार हैजा छिटो फैलिने सरुवा रोग भएकाले आवश्यक सतर्कता अपनाइएन भने यो महामारीको रुपमा फैलिने जोखिम रहन्छ।

हैजा संक्रमण देखिएपछि महाशाखाले केही दिनदेखि बागबजार क्षेत्रको ढल, पानी, खाद्यलगायतको नमूना संकलन गरिरहेको छ। 

डा. पुनका अनुसार संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म हैजाको लक्षण देखिन्छ। तारन्तार चौलानी जस्तो सेतो दिसा लाग्ने, शरीर कमजोर हुने, मांशपेशी बाउँडिने, वान्ता हुने र अत्यन्त थकाइ महसुस हुने हैजाका लक्षण हुन्। 

यस्ता लक्षण देखिनासाथ बिरामीलाई तुरुन्त अस्पताल लैजान पुनको सुझाब छ। ‘कडा लक्षण भएका बिरामीले बेवास्ता गरे हैजाबाट ज्यानै जान सक्छ,’ डा.पुनले भने, ‘हैजा संक्रमणबाट जोगिन सरसफाइमा बिशेष ध्यान दिनुपर्छ। स्वच्छ पानी मात्रै पिउनुपर्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गर्मी तथा वर्षायाममा झाडापखाला, हैजासहितका पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .