ad ad

समाज


बलात्कार आरोपित ‘सिद्धबाबा’को राजनीतिक कनेक्सनः राष्ट्रपतिदेखि पूर्वराजासम्म

बलात्कार आरोपित ‘सिद्धबाबा’को राजनीतिक कनेक्सनः राष्ट्रपतिदेखि पूर्वराजासम्म

दीपक खरेल
मंसिर १६, २०७६ सोमबार १२:५९,

२०७२ कात्तिक ११ मा राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएपछि धेरैले शुभकामना र बधाई दिए। पहुँच हुनेले भेटेर र अन्यले सामाजिक सञ्जालमै शुभेच्छा प्रकट गरे। कतिले सामाजिक सञ्जालमा उनीसँगैको तस्बिर राखेर पनि बधाइ दिए।

यही श्रृंखलामा एकजना श्वेत वस्त्रधारीले पनि आफ्नो फेसबुक अकाउन्ट र पेजबाट शुभकामना दिए। तर, उनको शुभकामना अलि फरक थियो। उनीबाट आशीर्वाद लिएकाले भण्डारी राष्ट्रपतिमा निर्वाचित भएको बेहोरा उनले लेखेका थिए।

‘श्री महायोगी सिद्धबाबाबाट आशीर्वाद प्राप्त (एमाले उपाध्यक्ष) श्री विद्यादेवी भण्डारी देशको प्रथम महिला रास्ट्रपतिको रूपमा निर्वाचित हुनुभएकोमा हार्दिक शुभकामनाका साथै राष्ट्रको सर्वाङ्ग विकास हुने विश्वास लिएका छौँ।’

उनले फेसबुकमा राष्ट्रपति मात्र होइन, त्यसबेलादेखि हालसम्म सत्ता र शक्तिको वरिपरि रहेका सबै उच्चपदस्थहरुलाई आफ्ना भक्तका रुपमा उल्लेख गर्दै तिनको तस्बिर पोस्ट गरेका छन्।

14.jpg

हालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अन्तरिम सरकार प्रमुख खिलराज रेग्मी, पूर्वराजा ज्ञानेन्द्र शाहदेखि तत्कालीन भारतीय राजदूत रणजित रायसम्मको तस्बिर ती गेरुधारीसँग बसेको देख्न सकिन्छ।

पछिल्लो समय उनी भारतीय योगगुरु रामदेव र आयुर्वेद आचार्य बालकृष्णसँगै देखिन्छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सपरिवार उनीसँग देखिन्छन्।

यी तिनै ‘सिद्धबाबा’ हुन् जो अहिले बलात्कार आरोपमा पक्राउ परेका छन्।

सोलुखुम्बु जुबुमा जन्मेका कृष्णबहादुर गिरी अर्थात् 'सिद्धबाबा'माथि आफ्नै अनुयायी एक महिलालाई बलात्कार गरेको आरोप छ।

17.jpg

को हुन् बलात्कार आरोपित सिद्धबाबा?
०४८ मा सोलुखुम्बुबाट निम्न माध्यामिक तहको परीक्षामा अनुत्तीर्ण भएपछि कृष्णबहादुर घरबाट भागेर भारत पुगे। शैक्षिक असफलताले विरक्तिएर घरबाट भागेका उनी फर्किंदा गेरु वस्त्रधारी बनेका थिए। उनी आफूलाई ‘महायोगी’ दाबी गर्न थाले। उनका अनुयायी उनलाइ ‘महाराज’ नामले सम्बोधन गर्थे।

भारतबाट नेपाल आएको केही समयमै उनले उच्च राजनीतिक सम्बन्ध स्थापना गरे। नेपालको हरेक शक्तिकेन्द्रसम्म उनको पहुँच बन्यो। पूर्वराजादेखि बहालवाला राष्ट्रपतिसम्म उनको दैलो धाउन थाले। पछिल्लो समय उनी सुनसरीस्थित बराहक्षेत्रको चतरामा आश्रम बनाएर बसिरहेका थिए।

पर्यावरण सुरक्षाका लागि हरितगृह अभियानका सञ्चालन गरेका उनलाई एक अनुयायीले आफूमाथि बलात्कार गरेको किटानी जाहेरी दिएकी छन्।

सोमबार बिहान प्रहरीले उनलाई पक्राउ गरिसकेको छ।

पीडित महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा ‘सिद्धबाबा’को लिंगको आकार र उनको शरीरका गोप्य भागमा रहेका निसानका विषयमा समेत बताएकी छन्।

गिरी यसअघि पनि पटकपटक आपराधिक तथा विवादास्पद घटनाहरुमा मुछिएका थिए। दोहोरो नागरिकता र सार्वजनिक जग्गा अतिक्रमणको आरोप खेपेका ‘सिद्धबाबा’ले सधैँ शक्ति र सत्ताको आडमा आफूमाथिको छानबिनलाई टार्दै आएका थिए।

16.jpg

गेरुधारी र शक्ति केन्द्रको ‘कनेक्सन’
बिनाअक्सिजन जमिनमुनि बसेर शरीरमा जमरा उमारेको दाबीपछि ‘सिद्धबाबा’ चर्चामा आएका थिए। केही वर्षमै ‘सिद्धबाबा’ शक्ति र सत्तालाई आफूसामु निहुराउन सक्ने सन्यासी बने। २०७२ देखि २०७६ कात्तिकसम्म देशभित्र र छिमेकी भारत तथा चीनका चिनिएका अनुहारसँग उनले सहज भेट पाए। थुप्रै भीआईपी उनको आश्रमसम्मै पुग्ने गर्थे।

उनले राष्ट्रप्रमुख, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी, राजनीतिक नेतृत्व र सुरक्षा प्रमुखसँगको निकटताले उनका अनुयायी बढाएको थियो। यसका लागि गिरीले आफूले भेटेका उच्चपदस्थ अधिकारीहरुको फोटो सामाजिक सञ्जालमा राख्ने र त्यसको प्रचार गर्ने गर्दै आएका थिए।

नेपाली राजनीतिमा गेरुधारी सन्यासीहरुको प्रभाव सधैँभरी कायम देखिन्छ। पछिल्लो समय पाइलट बाबा, कालीबाबा र कमलनयनाचार्यहरुको प्रभाव नेपाली राजनीतिमा छ। उनीहरु शक्तिकेन्द्र र राजनीतिक नेतृत्वसँगको निकटताका कारण चर्चामा छन्। तिनैमध्येका एक ‘सिद्धबाबा’ भने बलात्कारजस्तो गम्भीर अपराधको आरोपमा हिरासतमा पुगेका छन्।

यस्ता विवादास्पद र आपराधिक पृष्ठभूमिका बाबाहरुसँग राजनीतिक नेताहरु किन नजिकिन्छन्? मुलुकको राजनीति हाँकिरहेका नेताहरुले यस्ता पात्रलाई किन पहुँच दिन्छन्?

विश्लेषक आहुति आर्थिक तथा राजनीतिक शक्तिकेन्द्रसँग ‘डिल’ गर्न नेताहरु यस्ता गेरुधारीका पछाडि लाग्ने गरेको बताउँछन्।

‘कतिपय नेताहरु त रुढीग्रस्त नै हुन्छन्। बाबाहरुका गफलाई विश्वास गरेर तिनको नजिक पुग्छन्,’ उनी भन्छन्, ‘तर, धेरैजसो नेता भने शक्तिकेन्द्रको निकट बन्न बाबाहरुसम्म पुग्छन्। यस्ता बाबा र काठमाडौँ वरिपरिका गुम्बाका लामा विदेशी शक्तिकेन्द्रका नजिक हुन्छन्। कतिपयले तिनको एजेन्टको रुपमा काम गरिरहेका हुन्छन्। त्यसैले त्यस्ता आर्थिक तथा राजनीतिक संस्थाहरुसँग डिल गर्न पनि नेताहरु बाबाहरुको पछि लाग्छन्।’

19.jpg

राजनीतिक नेता र यस्ता बाबाहरुको नेक्सस बन्नु समाज र राजनीति दुवैका लागि खतरनाक भएको उनको भनाइ छ। ‘यो भनेको समाज र राजनीतिको अपराधीकरण हुनु हो। यसले समाजलाई फाइदा गर्दैन,’ उनी भन्छन्, नैतिकता, निष्ठामा आधारित राजनीति गर्नेहरु बाबाहरुसँग सम्बन्ध राख्दैनन्। तिकडम, षड्यन्त्र, कालोधन शुद्धीकरणका लागि यस्तो नेक्सस बन्छ।’

नेपाल प्रहरीका एकजना अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक सन्यासीहरु ‘सम्पर्कसूत्र’ बन्नसक्ने भएकाले शक्ति र सत्तामा बसेका व्यक्ति तिनको पछि लाग्ने बताउँछन्।

उनको अनुभवमा दुई विपरीत राजनीतिक दलका नेतासँग समान सम्बन्ध राख्नसक्ने सन्यासीहरु बेलाबखत बिचौलियाको भूमिका समेत खेल्ने गर्छन्।

‘सत्ता साझेदारीका लागि दुवैले समान आस्था राख्ने व्यक्तिका सामु सहमति जुटाउन सजिलो हुन्छ,’ ती एआईजीले भने ‘भारत र नेपालमा बाबाहरु अनौपचारिक शक्ति केन्द्र बन्ने गरेको उदाहरण बढ्दै गएको छ।’

उनका अनुसार यदाकदा अन्तर्राष्ट्रिय गुप्तचर संस्थाहरुले समेत गेरु वस्त्रधारीलाई राजनीतिमा प्रभाव बढाउने एजेन्टका रुपमा उपयोग गर्ने गरेका छन्। ‘त्यस्तो प्रमाणै त भेटिएको छैन,’ उनले भने ‘तर, यो भारतीय पक्षबाट अभ्यास हुने एउटा तरिका भने हो।’

18.jpg

४ दिनको अनुसन्धान म्याद तर अस्पतालको बास
सुनसरी जिल्ला अदालतले जर्बजस्ती करणी आरोपमा ‘सिद्धबाबा’लाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएपछि यो मुद्दा अदालती प्रक्रियामा पुगेको छ।

तर, उनले सोमबार अदालत परिसरमा सञ्चारकर्मीहरुलाई आफूविरुद्ध षड्यन्त्र भएको र यस्तो घृणित आरोपले मरेतुल्य भएको बताए। ह्विल चेयरमा अस्पताल लगिएका गिरीको अवस्था हेरेर अदालतले अस्पताल बस्न अनुमति दिए पनि प्रहरीले अनुसन्धान अघि बढाउने भएको छ।

‘हामीले जुटाएका सबुत–प्रमाण परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएका छौं,’ सुनसरी प्रहरीका डीएसपी विनोद शर्माले नेपालखबरसँग भने ‘किटानी जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरेर मुद्दा सरकारी वकिलमा बुझाउने हो।’

उनका अनुसार विभिन्न संचारमाध्यममा सार्वजनिक भएका पीडित महिलाले पठाएको भनिएको अनलाइन वार्तालाप, बाबा र पीडित महिलाबीच संवाद भएको अडियो टेप र घटनास्थलबाट बरामद सामाग्री परीक्षणका लागि प्रयोगशाला पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .