ad ad

समाज


कलंकी मालपोतमा शान्ताले देखिन् आफ्नै मृत्युदर्ता, जग्गा पनि अर्कैको भइसकेछ!

कलंकी मालपोतमा शान्ताले देखिन् आफ्नै मृत्युदर्ता, जग्गा पनि अर्कैको भइसकेछ!

उजिर कार्की
असार ५, २०७९ आइतबार २२:४, काठमाडौँ

शान्तादेवी लोहनीको २४ वर्ष पहिलेदेखि जापानमै बसोबास छ। बेलाबेला उनी नेपाल आउजाउ गर्छिन्। पछिल्लो पटक उनी २०७९ जेठ ५ गते नेपाल आएकी थिइन्। कीर्तिपुर नगरपालिका २ मा उनको ३६१.९५ वर्गमिटर जग्गा थियो।

त्यो जग्गा उनले २०६१ माघ १३ गते किनेकी हुन्। उनी त्यही जग्गा बायोमेट्रिक प्रणाली मार्फत अभिलेख गर्न गत जेठ १३ गते मालपोत कार्यालय कलंकीमा पुगिन्। मालपोत कार्यालयमा त झण्डै दुई वर्ष पहिले नै उनी बितिसकेको उल्लेख रहेछ। उनी जापानमा जीवित हुँदै दलालले नेपालमा मृत्युदर्ता गरिसकेका रहेछन्।

उनको नाममा भएको जग्गा पनि दलालले आफ्नो नाममा सारेर बिक्रि गरिसके छन्। शान्तादेवी लोहनीका नामबाट उनका श्रीमान तारानिधि लोहनीको नाममा २०७७ पुस १५ गते जग्गा नामसारी भएछ।

तारानिधि लोहनी उनका श्रीमान हुन्। सक्कल जग्गाधनी प्रमाणपूर्जा उनको साथमै थियो। तर, उनका श्रीमानका नाममा जग्गा आएको पनि उनीहरुले थाहै पाएनन्। तारानिधि लोहनी पनि दलाल नै बनेछन्। तारानिधिको नाममा गएको दुई महिनायता जग्गा बिक्री भएर सुनिता कर्माचार्यका नाममा गइसकेको रहेछ।

आफ्नो मृत्युदर्ता गरेर जग्गा तेस्रो व्यक्तिका नाममा सारिसक्दा पनि उनीहरुलाई भने थाहै भएन। मालपोतमा यो तथ्यांक फेला परेपछि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सम्पर्कमा पुगिन्।

‘त्यसपछि सीआईबीले अनुसन्धान थाल्यो र शान्तादेवीको जग्गा खाने दलालको खोजी गर्यो। अहिले त्यसमा संलग्न ५ जनालाई पक्राउ गरेका छौं’, सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले भने।

शान्तादेवीको ०७७ भदौ १३ गते कालगतिले मृत्यु भएको कागजात बनाइएको रहेछ। उनको मृत्युपछि हकवाला उनका श्रीमान बनेर दलाल नै पुगेछन्। त्यसका लागि मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणित गरिएको पत्र, तारानिधि लोहनीको नामको नागरिकता बनिसकेछन्।

उनीहरुका नाममा कागजात बनाएर दलालले २०७७ फागुन १० गते नै भक्तपुरकी सुनिता कर्माचार्यलाई ३ करोड ७० लाखमा बिक्री गरेको खुलेको छ। शान्तादेवीको जाहेरीपछि सीआईबीले यसमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।

यस्तो छ दलालको भूमिका

दार्चुलाको मालिकार्जुन ७ घर भई काठमाडौंको टोखा बस्ने ५२ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ का गणेशबहादुर खनाल, सोलुखुम्बुको दूधकोसी गाउँपालिका १ का बाबुराम कार्की, नुवाकोटको तार्केश्वर गाउँपालिका १ का प्रेमप्रसाद खनाल र काठमाडौंको तारकेश्वर नगरपालिका २ की ममता भन्ने डासीमाया श्रेष्ठको संलग्नता रहेको खुलेको छ। उनीहरुलाई सीआईबीले पक्राउ गरेको छ।

महावीर चन्द नक्कली तारानिधि लोहनी बनेका थिए। शान्तादेवीको नामबाट उनैले तारानिधिका नाममा जग्गा सारेका थिए। उनलाई मनमैजुबाट सीआईबीले पक्राउ गरेको हो। 

गणेशबहादुर खनाल र बाबुराम कार्की मुख्य योजनाकार हुन्। उनीहरुकै योजनामा जग्गाको कारोबार र नक्कली कागजात तयार गरिएको सीआईबीले जानकारी दिएको छ।

सीआईबीका अनुसार खनालले योजना बनाउनेसँगै खरिदकर्ता खोज्ने र आर्थिक कारोबारको व्यवस्था मिलाएका थिए।

उनलाई सीआईबीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो। कार्की पनि मुख्य योजनाकार हुन्। उनले नक्कली कागजात बनाउने र मालपोत कार्यालयसँग समन्वय गर्ने भूमिका रहेको एसपी महतोले बताए।

वनस्थलीबाट पक्राउ परेका प्रेमप्रसाद खनाल खरिदकर्ता खोज्ने र बिचौलियाको भूमिकामा रहेको सीआईबीले जानकारी दिएको छ। डासीमाया पनि खनालजस्तै बिचौलिया खोज्न र बिचौलियाको भूमिका खेलेको प्रहरीको भनाइ छ।

उनीहरुका साथबाट विभिन्न व्यक्तिका ४ थान नागरिकता पनि बरामद भएको छ। यस्तै तारानिधि लोहनीका नामको जग्गाधनी प्रमाणपूर्जा, लिखतको प्रतिलिपि, नागरिकताको प्रमाणपत्र, विभिन्न व्यक्तिको नामका जग्गाधनी दर्ता, श्रेस्ता पूर्जा तथा नक्साको फोटोकपी १२ थान फेला परेको छ।

यस्तै विभिन्न व्यक्तिका ६० वटा फोटो, विभिन्न व्यक्तिका नामका सिमकार्ड २९ वटा बरामद भएको छ। तारानिधिका नाममा पनि सिमकार्ड निकालेको पाइएको छ।

उनीहरुले विभिन्न स्थानका ४ विगाहा जग्गा कीर्ते कागजातको आधारमा नक्कली कम्पनी तथा जग्गाधनी खडा गरेर बिक्री गर्ने तथा धितोबन्धक राख्ने तयारी गरेको सीआईबीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .