ad ad

समाज


समाचार प्रभाव : जेल चलान भएको एक सातामै थुनामुक्त भए ऋणी नथुनी

समाचार प्रभाव : जेल चलान भएको एक सातामै थुनामुक्त भए ऋणी नथुनी

शैलेन्द्र महतो
जेठ २७, २०७९ शुक्रबार ९:१३, जनकपुरधाम

मिटरब्याजीको चुँगुलमा परेका महोत्तरीको औरही नगरपालिका १ का नथुनी साह जेलमुक्त भएका छन् । नथुनी बुधबार साँझ जेलमुक्त भएका हुन्। 

उनलाई प्रहरीले लेनदेन मुद्दामा गत जेठ १९ गते जलेश्वर कारागार चलान गरेको थियो। कारागार चलान भएको एक सातामै उनी जेलमुक्त भएका हुन्।

छिमेक सुदखोर विजय चौधरीले दिएको लेनदेन मुद्दामा नथुनीलाई जिल्ला अदालत महोत्तरीले गएको माघ २७ गते १ वर्ष जेल सजाय वा झण्डै ८ लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको थियो। 

जेल चलान भएको एकसातामै नथुनी जेल मुक्त भएका हुन्। 

केही दिनअघि मात्रै​ समाजमा नथुनीलाई जेलमुक्त गराउने विषयमा छलफल भएको थियो । जिल्ला प्रहरीमा मिटरब्याजी विजयमाथि परेको उजुरी र गाउँलेको दबाबले डराएका उनले ९० हजार रुपैयाँ लिएर नथुनीलाई थुनामक्त गराउन रुजु गराएका छन्। 

समाजिक छलफलमा ९० हजार रुपैयाँ लिएर मेलमिलाप गरी नथुनीलाई थुनामुक्त गरिएको स्थानीय रामदरेश यादवले बताए। नथुनी जेललाई थुनामुक्त गराउन रामदरेशले पहल गरेका थिए। 

नथुनीले २०७१ सालको अन्ततिर घर व्यवहार तथा सुन पसल संचालनको लागि विजयसँग १ लाख रुपैयाँ ऋण लिएका थिए। त्यसबापत बजारको हजार (चार दिनमा दुई हजार रुपैयाँ) लिने कागज गरिएको थियो। विजयले ऋण दिँदा चार गुणा बढीको कपाली तमसुक बनाएका थिए। 

ऋणको व्याज प्रति बजार २ हजार रुपैयाँ थियो । अर्थात प्रत्येक चारदिनमा २ हजार रुपैयाँ ब्याज तिर्नुपर्ने। पटक पटक ब्याज र सावाँ गरी १३ लाख रुपैयाँ नथुनीले तिरेका थिए। तर विजयले ६ लाख रुपैयाँ अझै ऋण बाँकी नै रहेको र चुक्ता गरे मात्र कपाली तमसुक फिर्ता गर्ने भन्दै आएका थिए। 

सो ऋण तिर्न विजयसहित उनका परिवार नथुनीको घरमा पुगेर गालीगलौज, धाकधम्की दुब्र्यबहार गर्ने गरेका थिए। 

२०७६ मा विजयले पैसा नतिरे इज्जत लुट्ने धम्की दिएपछि नथुनीको परिवार गाउँ छाडेर विस्थापित भएका थिए। 

नेपालखबरले विजयको मिटरब्याज धन्धाको खुलासा गरेपछि प्रहरीले दुई पटक उनको घरमा छापा मारेको थियो । त्यसपछि डराएका विजय मौन बसेका थिए। विजय शान्त भएपछि परिवारसहित नथुनी झण्डै दुई वर्ष अघि घर फर्केका थिए। 

विजयले गोप्य रुपमा जिल्ला अदालतमा नथुनीमाथि लेनदेनको मुद्दा दायर गरेका थिए । जसको नथुनीले चाल पाएनन् ।  गत जेठ १८ गते राति प्रहरीले उनलाई पक्राउ गरेर भोलि पल्टै जलेश्वर कारागार चलान गरेपछि लेनदेन मुद्दाको वास्तविकता खुलेको थियो।  

नथुनी जेल चलान हुँदा विजयमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नथुनीकी श्रीमती ममताले उजुरी दिएकी थिइन् । ऋण भन्दा कयौं गुना बढी रकम असुली गरेर उल्टै पीडितलाई जेल चलान गरेर अन्याय गरेको भन्दै परेको उजुरी पश्चात मिटरब्याजी विजय फरार भएका थिए। 

गाउँको दबाब र उजुरीले डराएका सुदखोर विजयमाथि नथुनीलाई थुनामुक्त गराउन दबाब परेको थियो। 

थुनामुक्तपछि मिटरब्याजी विजयबाट तत्कालको लागि नथुनीको परिवारमा समस्या टरेपनि ऋणको दलदल छँदैछ। विजयबाट लिएको ऋणलले उनको परिवारलाई खोक्रो बनाइदिएको छ। 

विजयलाई दिन धेरै ठाउँबाट चर्को ब्याजदरमा उठाएको ऋणले आफ्नो परिवार घर न घाटको भएको श्रीमती ममताले बताइन् । उनको घर भएको दुई धुर घडेरी समेत विजयको ऋण तिर्न अर्का साहुमहाजनकोमा बन्धकीमा छ।

‘विजयको ऋणको कारण मेरो परिवारमा ठूलो क्षति पुगेको छ । ७ वर्षदेखि कष्टकर जीवनजिउन बाध्य छ मेरो परिवार । कुनै पनि बैंकले ऋण दिएन । घरको समस्या टाल्न मिटरब्याजी विजयसँग ऋण लिन बाध्य भएँ, नथुनीे भने, ‘तर कपटी विजयले यतिसम्म सताउँछ र सडकमा ल्याइदिन्छ भन्ने कल्पना कहिल्यै गरिनँ। यस्तो हुन्छ भन्ने थाहा पाएको भए बरु सपरिवार भोकै मथ्र्यौं।’

विजयको चर्को मिटरब्याजको जालमा परेर नथुनीसहित औरहीका कयौं परिवारको बिल्लीबाठ भएको छ । विजयको थिचोमिचो सहन नसकेर र चर्को ब्याजदरको ऋण तिर्न नसकेर केहि परिवार गाउँबाट नै विस्थापित भइसकेका छन्।   

महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले मिटब्याजको प्रमाणसहित पीडितहरुले उजुरी दिए विजय लगायत जो सुकै मिटरब्याजीमाथि कारबाही गरिने बताए। 

मिटरब्याजीको शोषण : एक लाख ऋणको १३ लाख असुली, उल्टै पीडितलाई जेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .