समाज


अछाममा किशोर मृत्यु प्रकरण : अनुसन्धानका लागि सीआईबी टोली घटनास्थलमा

अछाममा किशोर मृत्यु प्रकरण : अनुसन्धानका लागि सीआईबी टोली घटनास्थलमा

गोकुल जोशी
जेठ २२, २०७९ आइतबार १५:१२, महेन्द्रनगर

अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाही मृत्यु घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालन भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सीआईबीका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोलीले आइतबार घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो। 

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित सीआइबीको टोली खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिए।

जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का शाही शनिबार बिहान तल्लको कुच्ची भन्ने ठाउँमा मृत भेटिएका थिए। नेकपा एमालेका समर्थक शाहीको हत्या भएको भन्दै आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताको अवरोधका कारण शनिबार दिनभरी सो क्षेत्र तनावग्रस्त बनेको थियो। 

शनिबार बेलुका मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो। शनिबार राति भएकाले आइतबार घटनास्थलको अनुसन्धान गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ। 

स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो। विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान पनि रोकिएको थियो। 

सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। कांग्रेस कार्यकर्ताको जाहेरीपछि १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा भएको झडपमा शाही बेपत्ता भएको परिवारको आरोप छ। 

बेपत्ता किशोर मृत भेटिएपछि आक्रोशित स्थानीय शनिबार तोडफोडमा उत्रिएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो। आइतबार भने त्यस क्षेत्रको स्थिती शान्त रहेको र प्रहरीले अनुसन्धान गरिरहेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए।

‘स्थिती सामान्य भएको छ, प्रहरीले अनुसन्धान थालेको छ,’ उनले भने, ‘अहिले शव पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad