समाज


विपद् व्यवस्थापनमा नेपालको प्रगति बुझ्न दक्षिण एशियाका सञ्चारकर्मी काठमाडौँमा

विपद् व्यवस्थापनमा नेपालको प्रगति बुझ्न दक्षिण एशियाका सञ्चारकर्मी काठमाडौँमा

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १२:१४,

भूकम्पपछिको पुनःनिर्माण तथा विपद् व्यवस्थापनमा नेपालले हासिल गरेको प्रगतिबारे जानकारी लिन दक्षिण एशियाली देशका सञ्चारकर्मी राजधानीमा भेला भएका छन्।

मनिलास्थित एशियाली विकास बैंकको प्रधान कार्यालयले एशिया–प्रशान्त क्षेत्रका सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत अन्तिमचरणको क्षमता अभिवृद्धि सम्बन्धी क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरेको हो ।

‘दैवी विपत्तिका जोखिम व्यवस्थापन र क्षेत्रीय पर्यटन प्रवद्र्धन’ शीर्षकमा आयोजना गरिएको चार दिने उक्त कार्यक्रममा नेपालसहित भारत, भूटान, बङ्गलादेश, श्रीलङ्काका राष्ट्रिय समाचार समितिहरू र राष्ट्रिय दैनिकका सञ्चारकर्मी सहभागी छन्।

कार्यक्रममको आज यहाँ शुभारम्भ गर्दै नेपालस्थित उक्त बैंकका देशीय प्रतिनिधि मुख्तोर खामुद खानोभले नेपाललाई चरम गरीबीबाटमुक्त गर्दै आर्थिक–सामाजिक विकासमा सघाउन बैंकले सक्दो सहयोग गरिरहेको बताए।

उनले संविधानको घोषणासँगै तीनवटै तहका निर्वाचन पश्चात् नेपालमा राजनीतिक स्थायित्व कायम भएको र वर्तमान सरकारले निजी क्षेत्रको सहभागितासहित आर्थिक विकासलाई केन्द्रमा राखेर तदनुरुप काम गर्दै आएको जानकारी दिए। उनले आपत्कालीन सहायता परियोजनाअन्तर्गत बैंकले भूकम्पबाट भत्केका विद्यालय भवन निर्माण गरिरहेको र तीमध्ये १६२ वटा भवन निर्माण भइसकेको जानकारी दिए।

बैंकका वरिष्ठ व्यवस्थापक रुडी भान डायलले नेपालको ऊर्जा, यातायात, सञ्चार, शिक्षा तथा भूकम्पपछिको पुनः निर्माणमा बैंकले गरेका सहयोग र जारी परियोजनाको समग्र अवस्था बारे प्रस्तुत गरे।

बैंकका वरिष्ठ अधिकृत शरद भण्डारीले बैंक सञ्चालक समिमितले हालै सार्वजनिक गरेको नेपाल सहायता रणनीतिका विविध पक्षको समीक्षा गरे।

बैंकको प्रधानकार्यालयका सञ्चार विशेषज्ञ ग्राहम ड्वायरले भूकम्पपछिको पुनःनिर्माणका साथै सशस्त्र आन्तरिकद्वन्द्व व्यवस्थापनसँगै जटिल राजनीतिक अवस्थाबाट गुज्रिएको नेपाल सञ्चारकर्मीका निम्ति उपयुक्त सिक्नेस्थल बन्ने ठानेर क्षेत्रीय कार्यक्रम काठमाडौँमा आयोजना गरिएको बताए।

आजै सञ्चारकर्मीको टोलीले ललितपुरस्थित एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसीमोड) मा हिन्दूकुश क्षेत्रमा परेको पर्यावरणीय प्रभावबारे जानकारी लिएको थियो भने भूकम्पपछिको सबल निर्माण, गोरखा भूकम्पपछिको पीडितहरूको जीवनशैली र पुनःनिर्माण, नवनिर्माण र पुननिर्माणमा प्रविधिको प्रयोग, भूकम्पमा पनि नभत्कने गरी निर्माण भएका विद्यालयसहितका संरचना, भूकम्प र बाढीपहिरोका बेला समाचार कक्षका जोखिम र कठिनाइ, समाचार सङ्कलन र सम्प्रेषणका चुनौतीबारे गहन छलफल भएको थियो।

नेपाल सरकारले अधिकभन्दा अधिक पर्यटक नेपाल भित्र्याउने उद्देश्यले सन् २०२० लाई नेपाल भ्रमणवर्ष घोषणा गरेको सन्दर्भमा विदेशी सञ्चारकर्मीले पर्यटकलाई उपलब्ध हुने सेवा सुविधाबारे जिज्ञासा राखेका थिए भने नेपाल पर्यटन बोर्डका उच्च अधिकारीले नेपालको पर्यटन प्रवद्र्धन सार्वजनिक निजी साझेदारीका साथै विदेशमा गरिएका प्रचारात्मक अभियानबारे जानकारी दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad