समाज


आडैको सटर भाडामा लिएर फिल्मी शैलीमा चोरियो ५ करोडको सुनचाँदी

होटलमा बसेर बनाएका थिए चोरीको योजना
आडैको सटर भाडामा लिएर फिल्मी शैलीमा चोरियो ५ करोडको सुनचाँदी

सुदीप भण्डारी
बैशाख १४, २०७९ बुधबार १३:४८, बुटवल

बुटवल उपमहानगरपालिका बिपी चोकस्थित एक सुनचाँदी पसलबाट सोमबार राति ठूलो परिमाणमा सुनका गरगहना चोरी भयो। 

उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित गुल्मेली कोटेश्वर मजुवा सुनचाँदी पसलबाट साढे ४ केजी बराबरका विभिन्न गरगहना र नगद चोरी भएका हुन्। 

पसलबाट २२ तोला काँचो सुन र अरु तयारी गरगहना गरि ५ करोड बराबरको लुटपाट भएको सुनचाँदी पसलका सञ्चालक वीरबहादुर सुनारले बताए। 

सिसिटिभी फुटेजका आधारमा चोरी गर्ने पहिचान भइसके पनि उनीहरु पक्राउ परिसकेका भने छैनन्। 

भारतबाट आएर योजनाबद्ध तरिकाले चोरी गरिएको हो। सुनचाँदी चोरी गरेर उनीहरु भारत तर्फ भागेका छन्। 

विभिन्न प्रकारका आधुनिक औजार प्रयोग गरि चोरी भएको बुटवल सुनचाँदी व्यवसायी संघले बुधबार बिहान गरेको पत्रकार सम्मेलनमा बताइएको छ।

सुन पसलनजिकै उनीहरुले व्यवसाय गर्न भनेर कोठा भाडामा लिएका थिए। घरधनी योगेन्द्र अग्रहरिसँग वकिल समेत राखेर विभिन्न कागजात बुझाएर भाडाको सम्झौता समेत गरेका थिए। 

व्यवसायका लागि अग्रिम पेस्कीसमेत बुझाएको अग्रहरिले प्रहरीलाई बताएका छन्। व्यवसाय गर्न भन्दै एक हप्ता अघिदेखि रङरोगन गरिरहेका थिए। 

उता होटलमा बसेर योजनाबद्ध तरिकाले उनीहरुले पसलमा चोरी गरेका हुन्। 

ग्यास वेल्डिङ मेसिन लिएर उनीहरु राति चोरी गर्न गएका थिए। सुन राखेको लकर समेत टुक्रा टुक्रा पारिएको छ।

चोरी गर्नेले कपिलवस्तुको तौलिहवाबाट मोबाइल फोनको सिम निकालेका थिए। त्यो सिमको नम्बरलाई पच्छ्याउँदा मंगलबार ११ बजे सुनौली टावरमा लोकेशन देखाएको छ। त्यसपछि उनीहरु भारत पसेका छन्। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए। 

'सिसिटिभी फुटेजमा देखाएअनुसार प्रारम्भिक अनुसन्धान गरेका छौं । खोजी कार्य जारी छ', उनले भने, 'साइडमा घरबेटीसँग व्यवसाय गर्ने भनेर सम्झौता गरिएको रहेछ। योजनाबद्ध तरिकाले देखिन्छ।'

डिएसपी पौडेलले आवश्यक परे रेडकर्नर नोटिस समेत जारी हुने बताएका छन्।

ठूलो परिमाणमा सुन चोरी भएपछि व्यवसायीहरुले असुरक्षित महसुस भएको बताएका छन्। 

उनीहरुले पटक पटक सुनचाँदी पसलमा चोरी हुँदा पनि राज्यले सुरक्षा दिन नसकेको बताएका छन्। 

बुधबार दिन बुटवलका सुनचाँदी पसल बन्द गरेर विरोध जनाएको बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्माले जानकारी दिए।

सुन पसलसँगैको सटरमा चैत्रदेखि कपडा पसल गर्ने भनी घर धनी पुनम अग्रहरिसँग कागजीरुपमा सम्झौता गर्ने व्यक्तिहरु भारतको उत्तर प्रदेश देवरिया जिल्ला अगस्तपार बस्ने सत्येन्द्र कुमार गौतम र  उत्तरप्रदेश नविनमण्डी भोला रोड मुल्तान नगर बस्ने राजिव शर्मा रहेको खुलेको छ।

आधारकार्ड, सिसिटिभी फुटेज ,घरभाडा सम्झौता पत्र, टेक्निकल एनालाइसिस र अन्य अनुसन्धानबाट उनीहरु संलग्न रहेको हुनसक्ने देखिएको हो। 

प्रहरीले सीमा क्षेत्र र भारतिय प्रहरीहरूसँग समन्वय भइरहेको जनाएको छ। आवश्यक परे भारतमै पुगेर पनि यसको अनुसन्धान तयारी प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .