नायक पल शाहलाई बलात्कार मुद्दामा जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बिहीबार बहस सकिएपछि जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका हुन्।
नायक शाहले नाबालिगलाई बलात्कार गरेको तथ्य भिड्न आएको अदालतको आदेशमा भनिएको छ।
‘उनले बयानमा इन्कार गरे पनि राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको पाइयो’, आदेशमा भनिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन। यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न, भिड्न आएको देखियो।’
यस्तै घटना सार्वजनिक भएपछि अडियोले पनि बलात्कार भएको थप पुष्टि गरेको अदालतको आदेशमा उल्लेख छ।
‘प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा निज प्रतिवादीले करणी गरेको तथ्यलाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ’, आदेशमा भनिएको छ।
घटना भएको १० महिनापछि जाहेरी परेको भन्दै शाहका वकिलले बहसका क्रममा बलात्कार नभएको दाबी गरे पनि प्रतिवादी र पीडित एउटै फिल्डमा लागेकाले कानुनी उपचारमा जाँदा आफ्नो क्यारिअरमा असर पर्ने होकि भन्ने विषयमा विचार विमर्श गर्दा गर्दै जाहेरी दिन ढिला भएको पीडित पक्षसँगको तर्कसँग अदालत सहमत देखिएको छ।
‘आफू कहिले, कसरी न्यायीक उपचारमा जाने हो र त्यसरी जाँदा दीर्घकालिन रुपमा के कस्तो परिस्थिति वा असहजता आउन सक्दछ भन्ने विषयमा पीडित तथा निजका संरक्षकले गम्भीर ढंगले सोच्न र विचार विमर्श गर्न पाउनुपर्ने कुरालाई नकार्न सकिँदैन’, आदेशमा भनिएको छ, ‘घटना भएको एक वर्षभित्रै जाहेरी परिअभियोग पत्र दायर हुन आएको देखिन्छ। त्यसरी समयमा जाहेरी नगर्नुको पछाडीको कारण अवस्था र परिस्थितिका विषयमा पछि प्रमाण बुझ्दै जाँदाका अवस्थामा समेत प्रस्ट हुने भएकाले थुनछेकको रोहमा त्यसलाई थप विश्लेषण गरिरहन आवश्यक देखिएन।’
मुख्य गरी यीनै विषयलाई आधार बनाएर अदालतले शाहलाई थुनामा पठाएको देखिएको छ। शाहलाई कारागार कार्यालय दमौलीमा पठाउन आदेशमा भनिएको छ।
अर्का प्रतिवादी कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।







Shares

प्रतिक्रिया