ad ad

समाज


बीपीमा स्वास्थ्य बीमा कार्यक्रम रोकियो, बीमा बोर्डले भुक्तानी नदिँदा समस्या

बीपीमा स्वास्थ्य बीमा कार्यक्रम रोकियो, बीमा बोर्डले भुक्तानी नदिँदा समस्या

कृष्ण बहाब
चैत ९, २०७८ बुधबार २१:४५, काठमाडौँ

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमलाई रोक्ने भएको छ। बीमा बोर्डले लामो समयसम्म भुक्तानी नदिँदा प्रतिष्ठानका चिकित्सकहरूलाई तलब दिनै समस्या रहेको बताउँदै बीमा कार्यक्रमलाई तत्काल स्थगित गर्ने जनाएको हो।

स्वास्थ्य बीमा बोर्डबाट अझै २५ करोडमाथि भुक्तानी लिन बाँकी रहेकाले स्वास्थ्य बीमाको कार्यक्रम प्रतिष्ठानमा तत्काल लागू नहुने भएको हो। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जारी गरेको सूचना अनुसार सरकारले बीमितहरुले सेवा लिए बापतको रकम भुक्तानी नदिएको कारण प्रतिष्ठान सञ्चालनमा समेत समस्या भएको भन्दै स्वास्थ्य बीमाबाट सेवा प्रवाह गर्न नसक्ने जनाएका हुन्। 

स्वास्थ्य बीमा बोर्डलाई पटक–पटक भुक्तानीको लागि पत्राचार गरेपनि प्रतिष्ठानको समस्या समाधान नभएको जनाएको छ। स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेका बीमितहरूलाई प्रतिष्ठानले २०७४ साउन महिनादेखि सुरु गरेपनि चैत १५ देखि भने अनिश्चित समयको लागि बन्द हुने भएको हो।

‘प्रतिष्ठानले पुर्याएको  सेवा बापत प्राप्त गर्नुपर्ने रकम समयमा नै प्राप्त हुन नसक्दा शिक्षक तथा कर्मचारीहरूको नियमित पारिश्रमिक लगायत दैनिक सञ्चालन खर्चमा समेत प्रतिकुल प्रभाव पर्न गएको छ’ सूचनामा भनिएको छ। 

‘प्रतिष्ठान एक अविच्छिन्न उत्तराधिकारवाला एवम् स्वशासित संस्था भएकोले यसले आफ्नो व्ययभार आफैँ बेहोर्नुपर्ने ब्यहोरा जानकारीका लागि अनुरोध गर्दै स्वास्थ्य बीमा गराएका बीमितहरूलाई प्रतिष्ठानले बहिरङ्ग, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गत दिइने सम्पूर्ण सेवाहरू अर्को सूचना नहुन्जेलसम्मको लागि चैत १५ गते देखि स्थगन गरिने’ जानकारी सूचनामा गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .