समाज


तनहुँमा पल शाहको बयान : उमेर पुगेपछि बिहे गरौँला भनेको थिएँ

तनहुँमा पल शाहको बयान : उमेर पुगेपछि बिहे गरौँला भनेको थिएँ

फाइल फोटो


नेपालखबर
चैत ८, २०७८ मंगलबार १९:७, काठमाडौँ

नायक पल शाहविरुद्धको तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालयले पल शाहलाई १२ देखि १४ वर्ष कैद र पीडितलाई क्षतिपूर्ति भराउन माग गर्दै मंगलबार मुद्दा दायर गरेको हो। 

अब अदालतमा थुनछेक बहस हुनेछ। जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार घटनाको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। भोलिपल्टै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो। 

यसअघि प्रहरीले घटनासँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ तथा घटनाका अन्य प्रमाण संकलन गरेको छ। 

यस्तै पीडित र पीडकसँग पनि बयान लिएको छ। बयानका क्रममा पल शाहले करणी गरेको भने अस्वीकार गरेका छन। तर उनले उमेर पुगेपछि विवाह गरौंला भनेको बताएका छन्।  

शाहले पीडित गायिकासँग कामकै शिलशिलामा चिनजान भएको बताएका छन्। तर यसअघि सार्वजनिक भएको अडियो भने उनले स्वीकार गरेका छन्। 

अडियोमा ब्वाइफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु सामान्य हो नि भनिएको छ। 

अडियोमा भएको कुरा अनुसार उनीहरुको बीचमा सम्बन्ध भएको पुष्टि भएपनि शाहले घटना भएको भनिएको दिन नाबालिगको कोठामा गए पनि बियर पिउन दिएको र फेसवासलिएर आफ्नै कोठामा फर्किएर सुतेको बताएका छन्। 

पल शाहको बयान : 
मैले मिति २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै भिडियोहरुमा अभिनय गर्ने क्रममा राम्रो स्वर भएकी गायिका...सँग २०७७ असोज २२ गते काठमाण्डौ साँखुमा भेट भएको हो। 

चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीबीच फोन तथा सामाजिक संजाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा विभिन्न स्थानमा गई बस्ने गरेका थियौँ।

२०७८ वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राती अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गरेका थियौं। 

राति ११:४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ।

पीडित नाबालिगले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेकी थिइन्। 

२०७८ सालको असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो म्यानेजर कृष्ण जोशी र म समेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि बिहे गरौँला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ। 

पीडित १८ वर्षभन्दा कम उमेर नाबालिग हुन भन्ने कुरा मलाई जानकारी थियो। पीडितपक्षले पेश गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्ल फ्रेण्ड ब्वाइफ्रेण्डबीच हुनु भनेको नर्मल हो भन्ने शब्दहरू रहेको आवाज मेरो आफ्नै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad