समाज


पलका म्यानेजरको बयान : दोब्बर तलब पाएपछि मान्छे मार्न केही जस्तो लाग्दैन भनेको हो

पलका म्यानेजरको बयान : दोब्बर तलब पाएपछि मान्छे मार्न केही जस्तो लाग्दैन भनेको हो

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०७८ मंगलबार १८:२४, काठमाडौँ

नायक पल शाहविरुद्धको तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालयले पल शाहलाई १२ देखि १४ वष कैद र पीडितलाई क्षतिपूर्ति भराउन माग गर्दै मंगलबार मुद्दा दायर गरेको हो। 

यस्तै पलका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि मुद्दा दायर भएको छ। उनलाई मतियार बनाएर वकिल कार्यालयले मुद्दा दायर गरेको छ। उनलाई पनि प्रहरीले पक्राउ गरेको थियो। 

पल शाह पक्राउ परेपछि उनले घटना ढाकछोप प्रयास गरेको आरोप जोशीमाथि छ। पीडितलाई धम्की दिएको भन्दै उनीविरुद्ध पनि जाहेरी परेको थियो। 

उनले बयानका क्रममा आफूले पीडितलाई धम्की दिएको पनि स्वीकार गरेका छन्। पलले बीचमा हटाए पनि नाबालिगसँगको सम्बन्धमा समस्या आएपछि तलब दोब्बर पारेर जोशीलाई फेरि फर्काएका थिए। 

कृष्ण जोशीको बयान यस्तो छ  

मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक २५ हजार रुपैयाँ तलब लिई फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रममा पूर्णविक्रम शाह सहभागी हुने तथा अभिनय गर्न रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने म्यानेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ।

शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिग र प्रतिवादी शाहबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो। शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए। 

२०७८ सालको असार अन्तिम हप्तातिर पीडितले मलाई सम्पर्क गरी पल शाहले मलाई नराम्रो व्यवहार गरेपछि वास्ता गर्न छाडेका छन् भनिन्। 

म लगायतले पीडित र पल शाहलाई बुझ्दा नाबालिगले आफूलाई पूर्णविक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जवरजस्ती करणी गरेका कारण म पीडामा छु भनेकी थिइन्। 

प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेण्ड, ब्वाईफ्रेण्डबीचको अन्डरस्टान्डिङमा भयो होइन, तैपनि हामीसँगै हुँदा केही भयो होला स्वीकार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाहिँ मिल्दैन भन्ने शब्दहरू बोलेका थिए। 

शाह र पीडित नाबालिगको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्यो भन्दै मासिक तलब वृद्धि गरी दोब्बर ५० हजार रुपैयाँ दिएर पुनः म्यानेजरको जिम्मेवारीमा फर्काएकाले मैले पीडित नाबालिगलाई तिमीहरु एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भनेको हो। 

पीडितपक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले.....लाई नाबालिग के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ। तर ...ले भने अनुसार काम नगरेकीले निजलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। 

निजले पेश गरेको म्यासेज मैले पठाएको हो। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केही जस्तो लाग्दैन भन्ने शब्दहरू प्रयोग गरेको हुँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad